नाबालिगमाथि यौन हिंसा प्रकरणमा अभियुक्तलाई १० वर्ष कैद, पश्चिम बंगाल पुलिसको अनुसन्धानलाई अदालतको समर्थन

aa-Cover-bsmm5kukciitv7jkf5pie496a2-20180206034704.Medi

दार्जिलिङ। १६ वर्षीया नाबालिगलाई प्रेमको प्रस्ताव राखी पटक–पटक यौन हिंसा गरेको आरोपमा पक्राउ परेका साहिल तामाङलाई अदालतले १० वर्षको कारावास सजाय सुनाएको छ। अदालतले अभियुक्तलाई १० हजार रुपैयाँ जरिवानासमेत तोकेको छ।

घटना सन् २०२५ को मे महिनाको हो। नाबालिगलाई प्रेमको प्रस्ताव राखेर साहिल तामाङले पटक–पटक यौन हिंसा गरेको आरोप छ। केही समयपछि नाबालिग गम्भीर बिरामी भएपछि उनलाई दार्जिलिङ सदर अस्पतालमा भर्ना गरिएको थियो।

अस्पताल प्रशासनबाट घटनाबारे जानकारी प्राप्त भएपछि दार्जिलिङ सदर (महिला) थानाको पुलिस टोली तत्काल सक्रिय भएको थियो। घटनाको अनुसन्धानको जिम्मेवारी सब–इन्स्पेक्टर नम्रता तामाङले सम्हालेकी थिइन्।

पुलिसले अनुसन्धान अघि बढाउँदै अभियुक्त साहिल तामाङलाई पक्राउ गरेको थियो। घटनासँग सम्बन्धित प्रमाण तथा तथ्यहरू संकलन गरी विस्तृत अनुसन्धान पूरा गरेपछि प्रहरीले अदालतमा आरोपपत्र (चार्जसिट) दायर गरेको थियो।

हालै सम्पन्न न्यायिक प्रक्रियापछि अदालतले अभियुक्तलाई दोषी ठहर गर्दै १० वर्षको कारावास र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।

पश्चिम बंगाल पुलिसले आफ्नो सामाजिक सञ्जालमार्फत घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी तथा टोलीको प्रयासलाई उल्लेख गर्दै नाबालिगमाथि हुने यौन अपराधप्रति कडा कानुनी कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता दोहोर्‍याएको छ। पुलिसको तर्फबाट अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाई आरोपपत्र अदालतमा पेस गरिएको र अन्ततः अभियुक्तलाई सजाय भएको विषयलाई कानुन कार्यान्वयनको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

नाबालिगमाथि हुने यौन हिंसाजस्ता गम्भीर अपराधमा तत्काल सूचना, प्रभावकारी अनुसन्धान र समयमै न्यायिक प्रक्रिया अघि बढ्नु आवश्यक रहेको यस घटनाले पुनः देखाएको छ।

About Author

Advertisement