अनिरुद्ध थापाले गोल गरे पनि भारतको उरुग्वेविरुद्ध निराशाजनक हार

IMG-20261007-WA0023(1)

काेलकत्ता: विवेकानन्द युवा भारती क्रीड़ांगण (सल्ट लेक स्टेडियम)-मा मंगलवार खेलिएको म्याचमा दुईपल्टको विश्व कप विजेता उरुग्वेले भारतलाई ६-१-ले पराजित गऱ्यो। यसअघि पनामा र ब्राजीलविरुद्ध लड़ाकू प्रदर्शन गर्ने खालिद जमीलको टोलीले उरुग्वेविरुद्ध लयको निम्ति संघर्ष गर्नु पऱ्यो। म्याचको पहिलो हाफमा एक समय त भारत १-१-को बराबरीमा रहेको थियो तर फिफा ऱ्याङकिंगमा २०औं स्थानमा रहने ल्याटिन अमेरिकी देशले रहल समयमा ५ गोल थपेर एकतर्फी जीत हासिल गऱ्यो। भारतले पहिलो हाफमा केही चुनौती पेश गरे पनि दोस्रो हाफदेखि उरुग्वेले अधिक मौका दिएन। म्याचको पहिलो हाफमा खराब मौसमले गर्दा खेल केही बेर रोकियो। म्याचमा ५८ प्रतिशत बल पोजेशनको साथ खेल्ने उरुग्वेको तर्फबाट म्याक्सिमिलियानो अराउजोले २ गोल गरे। पोर्तुगीच क्लब स्पोर्टिंग सीपी-बाट खेल्ने यस स्टार फरवर्डले २८औं र ५९औं मिनटमा गोल गरे। यसबाहेक लिभरपूलका पूर्व फरवर्ड डार्विन नुनेजले १२औं, रोड्रिगो जालाजारले ५३औं, जुआन मेनुएल सानाब्रियाले ७१औं र रोड्रिगो एगुइरेले ८६औं मिनटमा गोल गरे। यसरी भारतको तर्फबाट एकमात्र गोल अनिरुद्ध थापाले २२औं मिनटमा गरे। फिफा ऱ्याङकिंगमा १३८औं स्थानमा रहने भारतीय टोलीलाई विशेषगरी म्याचको दोस्रो हाफमा दिशाहीन देखियो। भारतले बीच-बीचमा केही असल प्रयासहरू गरे पनि उरुग्वेका गोलकीपर थिआगो कारडोजोले दर्शनीय शेभहरू गरेर टोलीलाई गोल खानदेखि बचाए। भारतले वर्तमान अन्तर्राष्ट्रिय विण्डोमा यसअघि पनामाविरुद्ध १-१-ले ड्र खेलेको थियो। त्यसपछि दोस्रो म्याचमा ब्राजीलविरुद्ध ४-० ले हारको सामना गर्नु परेको थियो।

About Author

Advertisement