शुभेन्दु सहित पञ्चपाण्डवको शपथ, माखनलालको सम्मान‎

IMG-20260509-WA0077

‎कोलकाता(सप्तर्षि सिंह): तृणमूल कांग्रेसको लामो १५ वर्षे शासनको अन्त्य भएको छ। नयाँ सरकारको मुख्यमन्त्रीका रूपमा नन्दीग्रामका भूमिपुत्र शुभेन्दु अधिकारीलाई भारतीय जनता पार्टीले घोषणा गरेको छ। पूर्व घोषणा अनुसार उनको शपथ ग्रहण समारोहमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृह मन्त्री सहित विभिन्न राज्यका मुख्यमन्त्री तथा केन्द्रीय मन्त्रीहरू उपस्थित रहे।
शनिबार बिहान ब्रिगेड मैदान क्षेत्र यो शपथ ग्रहणलाई लिएर बंगाली संस्कृतिले सुसज्जित बनेको थियो। राज्यपाल सी भि आनन्द बोसको उपस्थितिमा शुभेन्दु अधिकारीले नवौँ मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरे। यस ऐतिहासिक क्षणको साक्षी सिंगो देश बनेको छ।
‎कार्यक्रमका क्रममा एक वृद्ध मञ्चमा प्रवेश गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं अघि बढेर उनको सम्मान गरे। उनले सिलिगुडीका माखनलाल सरकारलाई अङ्गालो हाले र उनका पाउ छोएर प्रणाम गरे। ९७ वर्षीय यस वृद्धको सम्मानले ब्रिगेड मैदान भावुक बनेको थियो। राज्य भारतीय जनता पार्टीका अध्यक्ष शमिक भट्टाचार्यले भने कि यो केवल एक वृद्धको सम्मान होइन, बरु बंगालको राजनीतिक इतिहासप्रतिको श्रद्धा हो।
‎शुभेन्दु अधिकारीको शपथ ग्रहणमा माखनलाल सरकारको उपस्थिति नयाँ र पुराना पुस्ताबीचको सेतुको प्रतीक बनेको छ।
‎यस दिन मन्त्रिपरिषद्का पञ्चपाण्डवहरूले पनि शपथ लिए। उनीहरूमा खड़गपुर सदरका दिलीप घोष, कोचबिहारको माथाभाङ्गाका निशीथ प्रमाणिक, आसनसोल दक्षिणकी अग्निमित्रा पाल, बांकुराको रानीबाँधका क्षुदिराम टुडु तथा बनगाँव उत्तरका अशोक कीर्तनिया रहेका छन्।
‎संगठन परिवारका प्रतिनिधिका रूपमा दिलीप घोषलाई महत्वपूर्ण जिम्मेवारी दिइएको चर्चा छ। मन्त्रिपरिषद्मा महिला अनुहारका रूपमा अग्निमित्रा पालले शपथ लिएकी छन्।
‎मतुआ बहुल क्षेत्रहरूमा प्राप्त ठूलो समर्थनलाई ध्यानमा राख्दै बनगाँव उत्तरका अशोक कीर्तनियालाई मन्त्रिपरिषद्मा स्थान दिइएको छ। त्यस्तै पुरुलिया, झारग्राम, बांकुरा र पश्चिम मेदिनीपुर क्षेत्रमा कुर्मी समुदायको प्रभावलाई ध्यानमा राख्दै रानीबाँधका क्षुदिराम टुडुलाई समावेश गरिएको छ। उनले शपथ सान्ताली भाषामा लिए।
‎उत्तरबंगका प्रतिनिधिका रूपमा पूर्व केन्द्रीय राज्य मन्त्री निशीथ प्रमाणिकले पनि शपथ ग्रहण गरेका छन्। जानकारी अनुसार आगामी सोमबार राजभवनमा अन्य मन्त्रीहरूको शपथ ग्रहण समारोह आयोजना गरिनेछ।

About Author

Advertisement