प्रधानमन्त्री मोदीको नेतृत्वमा लड़्नेछ एनडीएले लोकसभा चुनाव, प्रस्तावलाई ३९ दलहरूको समर्थन

00-1-PM-Modi

नयाँ दिल्ली: दिल्लीको अशोक होटलमा मंगलबार सम्पन्न एनडीएको बैठकमा आउँदो वर्ष २०२४ को लोकसभा चुनाव प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा लड़्ने प्रस्ताव पारित गरियो। शिवसेनाका अध्यक्ष एवं महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले बैठकमा एनडीएको सो प्रस्ताव राखे। एआईएडीएमकेका के. पलानीसामी र असम गण परिषदका अतुल बोराले उक्त प्रस्तावलाई समर्थन गरे। बैठकमा एनडीएका ३९ घटक दलहरूले संकल्प लिए कि प्रधानमन्त्री मोदीको नेतृत्वमा गठबन्धनले लोकसभा चुनाउ लड़्नेछ र लगातार तेस्रो पटक पनि भारी बहुमतसितै मोदी देशका प्रधानमन्त्री बन्नेछन्।

भाजपानीत राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)-को बैठकमा ३९ घटक दलहरूले भाग लिए। एनडीए स्थापना भएको २५ सफल वर्ष पूरा भएको अवसरमा आयोजित उक्त बैठकमा पारित प्रस्तावमा एनडीए सरकारको नौ वर्षको सेवा, सुशासन र गरीब कल्याणका योजनाहरूलाई समर्थन गर्दै एक भारत,एकजुट भारतको संकल्प पनि लिइयो। प्रस्तावनामा भनिएको छ, ‘एनडीएको सरकार जब पनि सत्तामा आयो उसले राष्ट्रप्रेमको भावना र जनकल्याणको उद्देश्यलाई सर्वोपरि ठानेर काम गऱ्यो। वर्ष १९९८ देखि २००४ सम्म अटल बिहारी वाजपेयीको सरकार होस् वा वर्ष २०१४ देखि आजसम्मको नरेन्द्र मोदीजीको सरकार होस् एनडीए सरकारले सदैव क्षेत्रीय आकांक्षाहरूलाई सम्मान दिँदै राष्ट्र-निर्माणको भावनाले काम गरेको छl’ राष्ट्रिय सुरक्षालाई सशक्त बनाउने, सुशासनको स्थापना, आधारभूत संरचनाको निर्माण, गरीब-पछौटे वर्गको जीवनस्तरमा सुधार तथा विश्व पटलमा भारतको प्रतिष्ठा जस्ता विषयहरू एनडीएको प्राथमिकता रहिआएका छन्। यस बैठकमा एनडीएका सबै घटक दलहरूले नरेन्द्र मोदीको नेतृत्वमा आउँदो वर्ष २०२४ को लोकसभा चुनावमा विजयको अटुट विश्वासको संकल्प लिए। -हिस

About Author

Advertisement