सोनादा: सोनादा क्षेत्र अन्तर्गत मुण्डाकोठी, बाँसघारीको युवा आशिक छेत्रीले अहमदाबादको राष्ट्रीय औषधीय शिक्षा एंव अनुसन्धान संस्थानबाट स्नातकोत्तरमा गोल्ड मेडल प्राप्त गरेका छन्। आशिक छेत्रीले मेडिकल कैमिस्ट्रीमा स्नातकोत्तरमा सर्वोच्च अंक प्राप्त गरेर विश्व विद्यालयबाट गोल्ड मेडल प्राप्त गरेका हुन्। उक्त गोल्ड मेडल आशिक छेत्रीले विश्व विद्यालयको आगामी दिनमा हुने दिक्षान्त समारोहमा प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ। आशिकले स्नातकोत्तर उत्तीर्ण गरेको विश्व विद्यालय राजस्थान राष्ट्रीय औषधीय शिक्षा एंव अनुसन्धान संस्थान अहमादाबाद केन्द्र सरकार अन्तर्गत पर्ने एक प्रतिष्ठित औषधीय अनुसन्धान केन्द्रीय विश्व विद्यालय हो। देशभरिमा जम्मा सातवटा स्थानहरूमा यस्ता विश्व विद्यालयहरू सञ्चालित छन्। यो विश्व विद्यालय भारत सरकारको मुख्य विश्व विद्यालयहरूमा एक हो। यहाँ स्नातकोत्तर र पीएचडी अध्ययन गराइन्छ भने औषधीय विज्ञानको क्षेत्रमा देशका प्रतिष्ठित वैज्ञानिकहरू यहाँ अनुसन्धान कार्यमा संलग्न छन्। राष्ट्रीय स्तरको दुईवटा प्रवेस परीक्षा उत्तीर्ण गरेपछि पूर्ण फेलोशिप पाएर यस संस्थानमा प्रवेस पाइन्छ। या परीक्षाहरू उत्तीर्ण गरेर नै यसै विश्व विद्यालयमा आशिक छेत्रीले अध्ययन गर्ने अवसर पाएका थिए अनि मेडिकल केमेस्ट्रीमा सर्वोच्च अंक ल्याएर गोल्ड मेडल जित्न सफल भएका छन्। सोनादाको मुण्डा बाँसघारी निवासी पिता सागर छेत्री र माता सुशिला छेत्रीका सुपुत्र आशिक छेत्री सानैदेखि अब्बल दर्जाका विद्यार्थी थिए। सानो गाउँदेखि आफ्नो अध्ययन शुरु गरेर राष्ट्रीय स्तरमा पनि सर्वोच्च अंक ल्याएर गोल्ड मेडल जितेर आफ्नो गाउँ घर साथै दार्जिलिङ पहाड़कै नाम उज्जवल पारेका छन्। हुने बिरुवाको चिल्लो पात भने झैं आशिक छेत्रीले सानैदेखि गाउँ घरकै स्कूलहरू पढेर राष्ट्रीय शैक्षिक संस्थानतिर पनि अब्बल दर्जामा उत्तीर्ण भएका छन्। सानो ठाउँमा पढेर केही गर्न सकिन्दैन भन्ने कुरालाई आशिकले गलत साबित गर्दै गाउँ घरको स्कूल पढेर नै आफ्नो मेहनत र परिश्रमको दममा राष्ट्रीय स्तरमा आफुलाई सबैभन्दा अघि उभ्याउन सफल बनेका छन्। आशिक छेत्रीले आफ्नो माध्यमिक तहको शिक्षा सिडर्स चियाबारी माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेर उच्च माध्यमिक खरसाङको पुष्पारानी उच्चत्तर माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका थिए। त्यसरी नै उनले आफ्नो स्नातक तहको शिक्षा डा बीसी रोय कलेज अफ् फरम्यासी एण्ड एलियड हेल्थ साइन्स दुर्गापुरबाट फरम्याटिकल टेक्नोलजीमा उत्तीर्ण गरेका थिए। त्यसपछि उनले आफ्नो स्नातकोत्तर तहको शिक्षा मेडिकल केमेस्ट्रीमा राष्ट्रीय औषधीय शिक्षा एवं अनुसन्धान संस्थान अहमदाबादबाट हालैमा गोल्ड मेडलसहित उत्तीर्ण गरेका छन्। आशिक छेत्री पढाईमा साथै साहित्यमा पनि धेरै रुचि राख्ने व्यक्ति हुन्। उनको लेख, कविताहरू हिमालय दर्पण, युवा मञ्च, साहित्य पोष्ट, साब्लाबुङ, सम्भावना आदि पत्र पत्रिकातिर प्रकाशित छन्। उनले गाउँको भित्ते पत्रिका ‘दृष्टिकोण’ को पनि सम्पादन गरेका छन्। उनको कविताहरू आकाशवाणी खरसाङबाट पनि प्रसारित भएको जानकारी प्राप्त भएको छ। आशिक छेत्रीले आफ्नो अध्ययनको क्रममा स्नातक र स्नातकोत्तरमा विभिन्न फेलोशिपहरू पनि प्राप्त गरेका थिए।










