विधायक भोटियाले लामातेन प्राथमिक स्कूल भवनको उद्घाटन

mlaa_294

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत सिक्किम लामातेन तिङमो ग्राम पञ्चायत एकाईको लामातेन प्राथमिक स्कूल भवनको उद्घाटन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सिक्किम सरकारका अनुमान समितिका अध्यक्ष एवं बर्फुङ क्षेत्रका विधायक टीटी भोटिया प्रमुख अतिथि रहेका थिए। विधायक टीटी भोटियाको बहुलीबाट चार कोठे नवनिर्मित स्कूल भवनको विधिवत् रूपमा उद्घाटन गरियो। आफ्नो सम्बोधनमा विधायक भोटियाले सरकारले १०७ वटा नयाँ स्कूल अनुमोदन गरेर सिक्किमका विभिन्न गाउँमा नयाँ स्कूलहरू निर्माण भइरहेको जानकारी दिए।

गत २०११ मा भूकम्पले क्षतिग्रस्त भएपछि पूर्व सरकारले नयाँ स्कूल निर्माण गर्न नसकेको तर गत २०१९ मा नयाँ सरकार आएपछि छोटो समयमा नै सबै गाउँहरूमा स्कूल निर्माण भएको बताए। विधायकले अप्पर बोरोङमा बन्द रहेको प्राथमिक स्कूल मोडल स्कूलको नाम दिएर पुनः सञ्चालनमा लाएको जानकारी दिँदै उक्त स्कूलमा विद्यार्थी नानीहरूको संख्या पनि ५० जना पुगिसकेको बताए। स्कूलमा विद्यार्थी नानीहरूको लागि छात्रावास पनि संचालन गरिसकेको थप जानकारी पनि दिए।

यस अवसरमा लामातेन प्राथमिक स्कूलका भुतपूर्व विद्यार्थी विष्णुमाया लिम्बूलाई आईटीआई कलेज नाम्चीबाट उत्कृष्ट अङ्क हासिल गरेकोमा स्कूल र एसएमसीद्वारा प्रसंशा पत्रले सम्मानित गरियो। कार्यक्रममा विद्यार्थी नानीहरूले संस्कृतिक नित्य र गीतहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा लेक्सेप तिङमो जिल्ला प्रादेशिक क्षेत्रका जिल्ला पञ्चायत सदस्य मिङमा साङगे शेर्पा, पञ्चायत सभापति सुनीता राई, एसकेएम सीएलसी अध्यक्ष प्रकाश गुरूङ र जीआरएस वङदेन लेप्चा आदिले सम्बोधन गरेका थिए।

उक्त कार्यक्रम ग्राम पञ्चायतगण, एसकेएम पार्टीका सीएलसी महासचिव रिक्सल भोटिया, मण्डल प्रमुख प्रदिप गुरूङ, शिक्षा विभागका संयुक्त निर्देशक सुरज राई, ऐडी लाक्पा नर्बु शेर्पा, तिङमो माद्यामिक स्कुलका प्रधानाध्यापक कराम बस्नेत, लामातेन प्राथमिक स्कूलका प्रधानाध्यापक फूलचरण राई, लामातेन तिङमो ग्राम पञ्चायत एकाईका ऐडी याकुप राई, शिक्षा विभागका इन्जिनियरगण, एसकेएम ठेकेदार संगठनका क्षेत्र संयोजक किरण गुरूङ, महामन्त्री विकास तामाङ, ठेकेदार, अभिभावक लागयत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

-हिस

About Author

Advertisement