मार्चकमा एसकेएम नारीशक्तिको सभा सम्पन्न

IMG-20230608-WA0361.jpg

गान्तोक: मार्चकस्थित एसकेएम पार्टी कार्यालयमा एसकेएम नारीशक्तिको एक कार्यक्रम सम्पन्न भयो। नारीशक्तिकी अध्यक्ष कला राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुख्य अतिथिकोरूपमा क्षेत्र विधायक सोनम भेञ्चोङपा रहेका थिए। आजको कार्यक्रममा विशेष गरेर पञ्चायतहरूलाई अभिनन्दन जनाउने कार्य सम्पन्न भयो। उल्लेखनीय छ, गत आठ मार्च अन्तराष्ट्रीय महिला दिवसको अवसरमा अभिनन्दन जनाउन नसकिएका पञ्चायत साथै समाजसेवी महिलाहरूलाई पूनः सम्मान जनाउने कार्यक्रम नारीश्क्तिले शुरू गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक सोनम भेञ्चोङपाले एसकेएम सरकारले पार्टीलेस पञ्चायत चुनाउ गराएपछि सबैले उम्मेदवारकोरूपमा खडा हुने अवसर पाएको बताए। पार्टीलेस चुनाउ गर्दा जनताले आफूले मन परेको उम्मेदवारलाई भोट दिने अवसर प्राप्त भएको जानकारी गराए। अहिले ग्रामसभाको आयोजना गरेर सही व्यक्तिलाई सहुलियत वितरण गर्ने कार्य भइरहेकोमा उनले खुशी प्रकट गरे। पूर्व सरकार र वर्तमान सरकारले गरेको वाचा साथै दिएको बचनको सबैले मूल्याङकन गर्नुपर्ने उनले सुझाउ दिए। विशेष गरेर वर्तमान सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको किटान गरे। स्वास्थ्यको क्षेत्रमा सिक्किम राज्यको जुन प्रगति र विकास गऱ्यो त्यो देशको अन्य राज्यहरूमा नदेखेको बताए। अहिले सरकारले जस्तो सुकै रोगीको पनि उपचार गर्न सहयोग पुऱ्याएको र धेरै जना मानिसहरूले राम्रो उपचार पाएपछि स्वास्थ्य भएको बताए।

यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यस्तरीय नारीशक्तिकी अध्यक्ष कला राईले यस भन्दा अघिका सरकारले केवल पञ्चायतहरूलाई राजनीतिक हतियारकोरूपमा प्रयोग गरेको दावी गरिन्। तर वर्तमान सरकारले पञ्चायतहरू राजनीतिक शिकार हुन नपरोवस् भन्ने उद्देश्यले दलगत पञ्चायत व्यवस्था हटाएर पार्टीलेस चुनाउ सम्पन्न गराएको अवगत गराइन्। यस सरकारले सत्तामा आउन भन्दा अघि नै पञ्चायत चुनाउ पार्टीलेस गराउने घोषणा गरेको र त्यो पुरा गरेको देखाएको दावी गरिन्। तर पूर्व सरकारमा पार्टीले उठाएको उम्मेदवारलाई मन परेन भने पनि भोट दिनु पर्ने वाध्यता रहेको उनको भनाइ थियो। हाल सरकारले पञ्चायतहरूलाई स्वतन्त्रतापूर्वक कार्य गर्ने वातावरण सृजना गरेको हुनाले सबै पञ्चायतहरूले स्वतन्त्रतापूर्वक काम गरिरहेको बताइन्। उनले सबै पञ्चायत सदस्यहरूलाई पक्षपात र भेदभाव नगरी जनहितमा काम गर्ने आग्रह गरिन्। विशेष गरेर सहुलियत वितरणको क्रममा सही मानिसहरूको छनौट गरेर प्रदान गरिनु पर्ने उनले सुझाउ दिएकी छन्।

सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटियाले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ सदैव नारीहरूको पक्षमा खडा रहेको जानकारी गराउँदै एसकेएम सरकारको कार्यकालमा नारीहरूले सम्मान पाएको बताइन्। वर्तमान सरकारले पञ्चायतहरूलाई स्वतन्त्रतारूपमा काम गर्ने वातावरण दिएको र पञ्चायतहरूले लिएको निर्णयलाई पार्टी साथै सरकारले स्वागत जनाउँदै आइरहेको अवगत गराइन्। पञ्चायतहरूको कार्यमा सरकार साथै पार्टीले कहिले पनि हस्तक्षेप नगरेको उनले दावी गरिन्। तर पञ्चायतहरूले लिएको निर्णय जनहितमा हुनु पर्ने जानकारी गराइन्। यसरी नै कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष बलाराम अधिकारीले दुई दशक भन्दा अधिकसम्म मानिसहरूले स्वतन्त्रतारूपमा उम्मेदवार उठाउने अवसर नपाएको बताए। तर एसकेएम पार्टी सरकारमा आएपछि दलगत प्रथालाई हटाएर स्वतन्त्रतारूपमा चुनाउ लड्ने परिवेश सृजना गरेपछि सबैले चुनाउमा खुलेर सहभागी बन्ने अवसर पाएको किटान गरे। उनले जानकारी गराए अनुसार गाउँमा सहुलियत वितरण गर्न भन्दा अघि ग्रामसभा आयोजना गर्नुपर्ने सुझाउ दिए। ग्रामसभा आयोजना गरेपछि सही व्यक्तिले सहुलियत पाउन सक्ने किटान गरे।

आजको यस कार्यक्रममा नारीशक्तिका महासचिव पूजा शर्मा लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement