गान्तोक: रानीपुलस्थित विरस्पति परसाई उच्चत्तर माध्यमिक विद्यालयका बाहौं श्रेणीमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरूलाई अभिनन्दन जनाइयो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा क्षेत्र विधायक सोनम भेञ्चोङपा रहेका थिए भने श्रम विभागकी अध्यक्ष गंगा प्रसाई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यसै क्रममा सो विद्यालयको रूफ ट्रस साथै फल्स सिलिङको उदघाटन विधायक भेञ्चोङपाले गरे। विशेष गरेर सन फार्मा कम्पनीको सहयोगमा विरस्पति परसाई प्राथमिक पाठशालामा रूफ ट्रस साथै फल्स सिलिङको निर्माण गरिएको थियो। यसरी निरन्तर शिक्षाको क्षेत्रमा सहयोग पुऱ्याएकोमा सन फार्मा कम्पनीका सीएसआर प्रमुखलाई विद्यालय पक्षबाट सम्मान जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक सोनम भेञ्चोङपाले यस कम्पनीले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिँदै विरस्पति परासाई विद्यालयमा दुई वटा डिजिटल कक्षा, कम्प्यूटर लगायत विभिन्न सहयोग पुऱ्याउँदै आएको बताए। वर्तमान सरकारले राज्यमा सञ्चालित कम्पनीहरूसँग राम्रो सम्वन्ध राखेको हुनाले कम्पनीहरूले विद्यालयलाई सहयोग पुऱ्याउँदै आएको अवगत गराए।









