खरसाङ: भारतीय गोर्खाहरूको सबैभन्दा जेठो संस्था गोर्खा जन पुस्तकालयको एक सय एघारौँ स्थापना दिवस आज पुस्तकालयकै डा पारसमणि प्रधान प्रेक्षागृहमा उपाध्यक्ष प्रकाश प्रधानको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा पुस्तकालयको मूल सचिव एवम् आजका कार्यक्रम सञ्चालक विनोद रसाइलीद्वारा स्वागत भाषणसितै तिलक शर्मा, रविनकुमार प्रधान, ऋषि राई, एलडी मोक्तान, आईएन शर्मा, इन्दिरा थापा, कृष्ण पाण्डे, पुरुषोत्तम अधिकारी आदि पूर्व पदाधिकारीगणलाई मञ्चमा सम्मान जनाइयो। कार्यक्रमको आरम्भमा दिवंगत सदस्यहरूको स्मरणमा मौन धारण गरियो भने दिवंगत सदस्यहरूको स्मरणमा उपस्थित पदाधिकारी एवम् सदस्यहरूद्वारा एक सय आठ बत्ती बालियो। ज्ञात रहोस्, गोर्खा जन पुस्तकालयले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा दिवंगत सदस्यहरुलाई सम्झना गर्दै एक सय आठवटा दीप प्रज्वलन गर्ने गरेको छ। स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सदस्य एंव पूर्व अध्यक्ष तिलक शर्माले गोर्खा जन पुस्तकालयको इतिहासमाथि प्रकाश पारे। उनले गोर्खा जन पुस्तकालयले शुरुमा खेलकुद, साहित्य, संगीत, समाजसेवा जस्ता विविध क्षेत्र र विधामा काम गरेको अनि आजपर्यन्त साहित्य, शिक्षा, भाषा, संस्कृति अनि सामाजिक कार्यहरू निरन्तर गरी भारतीय गोर्खाहरूको सबैभन्दा जेठो संस्थाको रुपमा आफ्नो दायित्व पालन गरिरहेको बताए। पुस्तकालयको आयोजन अनि तत्वावधानमा सम्पन्न जातीय विभूतिहरूको सालिग स्थापना, विद्यार्थीमुखी कार्यक्रम अनि शैक्षिक पुरस्कार, ऐतिहासिक ‘चन्द्रिका’ पत्रिकाको प्रकाशन, विभिन्न पुरस्कार आदिको उल्लेख गर्दै चाँडै सांसद कोषमार्फत् पुस्तकालयको माथिल्लो तलामा भारतभरिका नेपाली भाषाका लेखकहरूका विभिन्न विधाका पुस्तकहरूको संग्रहालय तयार गरिने पनि उनले बताए। यस प्रसंगमा उनले वर्तमान सांसद राजु विष्टप्रति धन्यवाद टक्र्याए।
वरिष्ठ सदस्य एवम् साहित्य अकादेमी नयाँ दिल्ली नेपाली भाषा परामर्श समिति सदस्या आशा मुखिया लामाले पुस्तकालयको गरिमाबारे बोल्दै भारतका विभिन्न क्षेत्रका संघ संस्थाका प्रतिनिधि अनि जातिको इतिहासको ज्ञान राख्ने व्यक्तिहरूले एकचोटि गोर्खा जन पुस्तकालय भ्रमण गर्ने इच्छा गर्ने गरेको उल्लेख गर्दै यस्तो ज्येष्ठ अनि पूज्य संस्थाको गरिमालाई सबैले अक्षुण्ण राख्नपर्ने आह्वान् गरिने। कार्यक्रममा वरिष्ठ पत्रकार केशव प्रधानले गोर्खा जन पुस्तकालयसित बाल्यकालदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै बौद्धिक क्रान्तिका निम्ति पुस्तकालयले अहम भूमिका सम्पन्न गर्ने हुँदा नयाँ पिँढ़ीलाई कामलाग्दो प्रकारले पुस्तकालयलाई आधुनिकीकरण गर्दै अझ स्तरीय एवम् नयाँ सोच र आकर्षक बनाउन पर्ने सुझाव राखे। उनले चन्द्रिका पत्रिकालाई पेशादार पत्रिका बनाउने अनि यसबाट आएको पैसाले विद्यार्थीहरूलाई भाषा र साहित्य बुझ्न विभिन्न क्षेत्रहरूमा पठाउने साथै रोयल्टी पुस्तकालयलाई बुझाउने सुझाव राखेका थिए।

समाजसेवी टीटी लामाले गोर्खा जन पुस्तकालयले धेरै उन्नति गरेको अनुभव साझा गर्दै हाम्रो समाजमा पठन संस्कृतिमा ह्रास आएको देखिएकाले यसबारे समयमै सोच्नपर्ने अनिवार्यताबारे सचेत गराए। विशेष गरी बाल-बालिकाहरूदेखि नै यो प्रक्रिया शुरु गर्नुपर्ने कुरामा जोड दिए। यसका साथै उहाँले आफूसित भएका बहुमूल्य पुस्तकहरू पनि पुस्तकालयलाई दान गर्ने संस्कार विकसित गर्नसके सबै लाभान्वित हुने मन्तव्य प्रकट गरे।
मित्रसेन पुरस्कारद्वारा पुरस्कृत कलाकार एवम् वरिष्ठ सदस्य मानसिंह मोक्तानले पुस्तकालयको समुचित संरक्षण र विकासको निम्ति सामुहिक प्रयास निरन्तर राखे आउने पिँढीको नयाँ चेत र नयाँ सोचले सही आधार प्राप्त गर्नसक्ने बताए। कार्यक्रम अध्यक्ष प्रकाश प्रधानले गोर्खा जन पुस्तकालय ११० वर्ष पूरा गरेर १११ वर्षमा प्रवेश गरेको दिनको महत्व उल्लेख गर्दै आफ्नो सम्बोधनमा सबैको प्रेरणा, साथ र सहयोगका कारण गोर्खा जन पुस्तकालय उभिन सक्षम भएको बताए साथै उपस्थितिका निम्ति सबै पदाधिकारी एवम् सदस्यहरुलाई आभार व्यक्त गरे। उनले भविष्यमा पुस्तकालयमा अभिलेखागार अनि डिजिटल लाइब्रेरी बनाउने लक्ष्य रहेको बताउँदै पुस्तकालयले पालन गर्दै आएका नियमित कार्यक्रमहरूबारे पनि जानकारी गराए। विशेष गरी पुस्तकालयको स्थापना दिवसको अवसरमा आकाशवाणी खरसाङबाट आज प्रसारित विशेष कार्यक्रमका निम्ति कार्यक्रम प्रमुख पारसचन्द्र आलेप्रति आभार व्यक्त गरे।

कार्यक्रममा धेरै संख्यामा पुस्तकालयका सदस्यहरू साथै सामाजिक कार्यकर्ता लगायत दिवंगत सदस्यहरूका पारिवारिक सदस्यहरूको पनि उपस्थिति रहेको थियो।










