गान्तोक: केही समयको विश्रामपछि राज्यका मुख्यमन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष प्रेमसिंह तामाङले जनता भेट्ने कार्यक्रम आजदेखि शुरू गरेका छन्। सरकार घर दैलो अभियानको आठौं चरणमा आज मुख्यमन्त्री तामाङले मानेबुङ देन्तामका जनतासँग भेट गरे। मुख्यमन्त्रीको जनतासँगको भेट कार्यक्रम आगामी ९ जुनसम्म निरन्तर रहेको भएको छ। आजको प्रथम दिनमा उनले मानेबुङ देन्ताम समष्टीका तीनवटा जीपीयूका हजारौं जनतासँग प्रत्यक्ष भेट गरेर उनीहरूको गुनासो सुने। गुनासो सुनेपछि आफूबाट हुन सक्ने काम तत्काल गरेर समस्या समाधान गरे।
कतिपय युवाहरुलाई जीविका उपार्जनको निम्ति आफ्नो पक्षबाट वाहन पनि प्रदान गरे। रोगी अनि वृद्ध बृद्धाहरुलाई भने जन कल्याण प्रकोस्ठको माध्यम सहयोग राशि प्रदान गरियो।
आज प्रथम दिन क्षेत्रका हजारौं जनताले राज्यका मुख्यमन्त्रीसँग प्रत्यक्षरूपमा भेट गर्ने अवसर प्राप्त गरे। कतिपयले त आफ्नो जीवनकालमा पहिलोपल्ट मुख्यमन्त्रीसमक्ष साक्षात्कार भेट गरेको पनि विचार साझा गरे। यसरी आफ्नै क्षेत्रमा सरकार आएर जन गुनासो सुन्ने कार्यक्रम गरेकोमा स्थानीय जनताले राज्यका मुख्यमन्त्री प्रति आभार व्यक्त गरेका छन्।

आजको जनता भेट कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ सहित मन्त्रीगण, अध्यक्ष, मुख्यमन्त्रीका राजनीतिक सचिव, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव, विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो।










