गान्तोक: राज्यमा डेयरी विकासबारे गरिएको कार्य प्रगतिको समीक्षा गर्दै आज यहाँको कृषि भवनमा रहेको पशुपालन एवं पशु चिकित्सा सेवा मुख्यालयको सम्मेलन कक्षमा एक बैठक सम्पन्न भयो। विभागीय सचिव डा. पी. सन्थाल कुमारको अध्यक्षतामा सम्पन्न बैठकमा मत्स्य पालन, पशु पालन, डेयरी मन्त्रालयका उपायुक्त सेन, सिक्किम ग्रामीण आजीविका मिशनका अतिरिक्त सचिव डा. सञ्जय गजमेर लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
विभागीय सचिव डा. पी. सन्थाल कुमारले सिक्किम को-अपरेटिव मिल्क प्रोड्युसर युनियन लिमिटेडद्वारा लागू गरिएको डेयरी विकास परियोजना सम्बन्धी राष्ट्रिय कार्यक्रम अन्तर्गतको स्थिति र प्रगतिको बारेमा विस्तृत रूपमा जानकारी गराए। राज्यमा दुग्ध विकास र दुग्ध सहकारी तथा दुग्ध व्यवसायीलाई उपलब्ध गराइने सुविधाका बारेमा पनि उनले बैठकलाई जानकारी गराए। सचिवले सिक्किम को-अपरेटिव मिल्क प्रोड्युसर युनियन लिमिटेडद्वारा लागू गरिएको सिक्किमको एनपीडीडी परियोजनाको बारेमा पनि जानकारी गराए। यसमार्फत गाउँको दूध उत्पादक सहकारी संस्थाहरूलाई बल्क मिल्क कूलिङ मशीन, दूध परीक्षण मशीनहरू प्रदान गरिन्छ। यी उपकरणहरू दूध सुरक्षित गर्न प्रयोग गरिन्छ। आजको बैठकमा उपस्थित अधिकारीहरूले आ-आफ्नो विचार पोखे भने राज्यमा डेयरी विकासको निम्ति थप समर्पित भएर कार्य गर्नुपर्ने कुरामाथि सबैले जोर दिए।









