नाम्चीःगेजिङ जिल्लाको हि-मार्तम खण्ड प्रशासन केन्द्रअन्तर्गत बर्मेक-बर्थाङ ग्राम पञ्चायत एकाईले विशेष ग्राम सभामा आज विश्व जल दिवस पालना गऱ्यो। सभालाई पञ्चायत सभापति गणेश प्रसाद शर्माले अध्यक्षता गरेका थिए।
सभाको शुरूमा पञ्चायत सभापति शर्माले पानीको महत्व र विशेषताबारे बोल्दै हरेकले थोपा-थोपा पानी बचाउनुपर्छ भने। पानीको सुरक्षा र संरक्षण गरेमा मात्र पृथ्वीमा सृष्टि सम्भव हुने बताए। यस विशेष ग्राम सभामा बर्मेक-बर्थाङ गाउँलाई ओडीएफ प्लस गाउँ भनेर ग्राम सभाका सदस्यगणको स्वीकृति लिएर घोषणा पनि गरेको छ। शर्माले पानीको सुंरक्षण हर स्तरबाट गर्नुपर्छ भन्दै पानीको सुरक्षा र संरक्षण गर्न शपथ पनि दिलाए।
यस अतिरिक्त, ग्राम प्रशासन केन्द्रमा धेरै अघिदेखि आफ्नो दिलोज्यान दिएर पानीको व्यावस्थापनमा खटिरहेका कर्मठ बियरफुट इन्जिनियरहरूलाई उनीहरूले गरेका कार्यहरूको यथोचित मूल्याङ्कन गर्दै खदा अर्पण गरेर सम्मान पनि जनाइयो। आजको यस विशेष सभामा सञ्जय राणा, पञ्चायत उपसभापति मानधोज लिम्बू, पञ्चायत सदस्यरूको उपस्थिति रहेको थियो।