जम्मू-कश्मीरबाट ल्याइएको आइफलको बिरुवा पनि रोपियो हिले फार्ममा

IMG-20230306-WA0291.jpg

सोरेङ: सोरेङ जिल्ला अन्तर्गत बागवानी विभागको तत्वावधानमा आज हिले बागवानी फार्ममा आइफल खेतीमाथि एकदिने सचेतना एवं तालिम कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा पचास जना इच्छुक कृषकहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा कृषि एवं बागवानी विभागका मन्त्री लोकनाथ शर्मा, राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा, बागवानी विभागका सचिव सदन कुमार तामाङ, अतिरिक्त निर्देशक बीएल दाहाल, सोरेङ जिल्ला अन्तर्गत बागवानी विभागका संयुक्त निर्देशक रबिन गुरुङ, संयुक्त निर्देशक सुरेन गुरुङ, कृषि विभागका खण्ड अभियान्ता जिग्मी लेप्चा, बागवानी विभाग अन्तर्गत दरमदिन खण्ड प्रशासनिक केन्द्रका उप-निर्देशक भानु शर्मा, सम्बन्धित विभागका अन्य अधिकारीगण, स्थानीय पञ्चायतगण र कृषकहरुको उपस्थिति थियो।

स्मरण रहोस्, सिक्किममा केसर खेतीको सफल प्रशिक्षण पछि आइफल खेतीको सम्भावनालाई सरकारले ध्यानमा राख्दै गत चार मार्चको दिन सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राजभवन परिसरमा जम्मू-कश्मीरबाट ल्याएका आइफलको विरुवा रोपेर उक्त खेतीलाई प्रोत्साहित गर्न बागवानी विभागले कार्यक्रम आरम्भ गरेका थिए। फलस्वरूप राज्यका कृषि एवं बागवानी विभागका मन्त्री लोकनाथ शर्माले हिले फार्ममा पनि आइफलको बिरुवा रोपेर कार्यक्रमको थालनी गरे। सिक्किमको जैविक माटो र अनुकूल जलवायुमा आइफल खेती कृषकहरुको निम्ति राम्रो आयस्रोत बन्नसक्ने विभागको भनाई छ। बागवानी विभागको हिले फार्म दस हजार फिटमाथि अवस्थित छ। सिक्किम सरकार अन्तर्गत बागवानी विभागको हिले फार्म राज्यकै सबैभन्दा ठूलो फार्म हो। जुन फार्म १६ हेक्टर क्षेत्रमा फैलिएको छ। पहिला यो फार्म आलु खेतीको निम्ति सिक्किममा नै प्रसिद्ध थियो। तर बढ्दो बन्यजन्तुको रगरगीको कारण अहिले हिले फार्ममा आलु खेती प्रायःजसो गरिँदैन। बागवानी विभागले जलवायुको अनुकूलतालाई ध्यानमा राख्दै हिले फार्म साथै वारीपारीको गाउँमा केसर र आइफल खेतीमाथि बागवानी विभागले कृषकहरुलाई अभिप्रेरित गरिरहेको बताइएको छ। केसर र आइफल खेतीको लागि बिरुवाहरु सरकारले जम्मू-कश्मीर राज्यबाट विभागले उपलब्ध गराइरहेको पनि बताइएको छ।

मन्त्री लोकनाथ शर्माले आज हिले फार्ममा जम्मू-कश्मीरबाट ल्याएको आइफलको बिरुवा रोपेर यहाँ आइफल खेतीको शुरुवात गरे। उनले कृषकहरुलाई लक्षित गर्दै सम्बोधन गर्ने क्रममा शिक्षित युवा जमातलाई पनि खेतीपाती पट्टि झुकाव हुनुपर्ने मन्त्रीले आग्रह गरे। सिक्किमे जनताले अब मानसिकता परिवर्तन गरेर खेतीपातीलाई प्रमुखता दिनुपर्ने बताए। सरकारले दुध उत्पादक गर्ने कृषकहरु सँगसँगै विभिन्न खेतीपातीमा प्रोत्साहित गर्न कृषकहरुलाई प्रोत्साहन राशि प्रदान गरिरहेको बताए। यस वर्ष मात्रै १७ करोड रुपियाँ प्रोत्साहन राशि विभागले कृषकलाई प्रदान गर्नुपर्ने रहेको तर उक्त राशि ग्राम पञ्चायतले ग्रामसभामार्फत सिफारिस गरेर सहि कृषकको नामवाली छनौट गरिदिने पनि मन्त्री शर्माले स्थानीय पञ्चायतहरुलाई आह्वान गरे। हिले, ओख्रे, रिब्दी, भरेङ साथै माथिल्लो भेकमा केसर र आइफल खेतीको लागि जलवायु अत्यन्तै अनुकूल रहेको बताउँदै स्थानीय कृषकहरुलाई उक्त खेतीमाथि जोड दिनुपर्ने मन्त्रीले आग्रह गरे। सिक्किम सरकार गाउँमुखी सरकार रहेको हुँदा आज कृषकहरुको आयस्रोतमा वृद्धि आएको उनले बताए। खेतीपाती नै भविष्य हो अनि भविष्य नै खेतीपाती हो भन्ने अवधारणा लिएर सरकारले काम गरिरहे बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *