गान्तोक: भोटिया केराप यार्गे छोक्पा (बीकेवाईटी)-को पहलमा १०औं अनि १२औं श्रेणीका राज्यका मुख्य रूपले गरीब विद्यार्थीहरूलाई महिनाव्यापी निःशुल्क तालिम कार्यक्रम आज समाप्त भयो। यहाँको भोटिया हाउसमा आयोजित कार्यक्रममा बीकेवाईटीका प्रमुख संरक्षक एवं राज्यका धर्म मामिला विभागीय मन्त्री सोनाम लामा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। यसपाली मोठ १३० जना विद्यार्थीहरूले महिनाव्यापी यस तालिमको लाभ उठाए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनाम लामाले विद्यार्थीहरू भोलिका कर्णधान हुन् भन्ने कुरालाई ध्यानमा राखेर बीकेवाईटीले यस प्रकारको पहल गरेको जानकारी गराए। प्रतिवर्ष आयोजन गरिने यस तालिमको निम्ति प्रतिवर्ष नै मन्त्री सोनाम लामा अनि मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो एक महिनाको वेतन बीकेवाईटीलाई प्रदान गर्ने गर्छन्। योसँगै आज मन्त्री लामाले यहाँ तालिम लिने विद्यार्थीहरूमध्ये दशौं अनि बाह्रौं श्रेणीको बोर्ड परीक्षामा शीर्ष अंक हासिल गर्नेहरूलाई आफ्नो तर्फबाट रु. २०/२० हजार, दोस्रो हुनेहरूलाईलाई १५/१५ हजार अनि तेस्रो स्थान ओगट्नेहरूलाई १०/१० हजार प्रदान गर्ने घोषणा गरे। मन्त्रीसँगै बीकेवाईटीका नवनियुक्त अध्यक्ष छेवाङ ग्यात्सोले पनि आज तालिम लिनेहरूमध्ये दशौं अनि बाह्रौं श्रेणीको परीक्षामा शीर्ष अंक ल्याउनेहरूलाई १०/१० हजार अनि दोस्रो स्थान हासिल गर्नेहरूलाई ५/५ हजार नगद राशि प्रदान गर्ने घोषणा गरे। यसरी नगद राशिको घोषणाले विद्यार्थीहरूलाई थप ऊर्जा अनि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले आफूहरूले यो पहल गरेको दुवैले बताए। आफ्नो पालोमा यस्तो अवसर नपाएको स्मरण गर्दै मन्त्री सोनाम लामाले अहिलेका नानीहरूलाई यो अवसर प्रदान गर्न चाहेको विचार पोखे। बीकेवाईटीबाटै प्रशिक्षण लिएका विद्यार्थीहरू भोलिको दिनमा आईपीएस, आईएएस, सचिव जस्ता पदहरूमा पुग्न सके आफूहरूको अभियान सफल भएको ठान्ने उल्लेख गर्दै यसको निम्ति विद्यार्थीहरूले जिम्मेवारी वहन गरेर लगनशील भएर खट्नुपर्ने समय आएको बताए।
जानकारी गराइन्छ, बीकेवाईटीले निरन्तर रूपमा राज्यका सबै समुदायका नानीहरूलाई प्रतिवर्ष एक महिना निःशुल्क तालिम प्रदान गर्दै आइरहेको छ। आज १६औं चरणको तालिमको समापन भएको हो। संगठनले विशेष गरेर राज्यको ग्रामीण क्षेत्रका गरीब नानीहरूलाई निःशुल्क तालिम प्रदान गरेर उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको संगठनका पूर्व अध्यक्ष छिरिङ थेण्डुप भोटियाले जानकारी गराए। विद्यार्थीहरूलाई निःशुल्क तालिम प्रदान गर्ने शिक्षकहरूलाई पनि आज संगठनको तर्फबाट सम्मान पत्र प्रदान गरियो भने विद्यार्थीहरूले पनि यस एक महिनाको तालिम आफूहरूको निम्ति फलदायी बनेको अनुभव साझा गरे।