गान्तोकः हाम्रो सिक्किम पार्टी (एचएसपी) र सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले भोलि ४ फरवरीका दिन राज्यमा शोक मनाउने घोषणा गरेको छ। एचएसपी र एसआरपीले सिक्किमे जनतालाई भोलि आफ्ना सबै काम-धन्धा अनि वाहनहरू बन्द गरेर कालो दिवस मनाउन आह्वान गरेका छन्। सिक्किमका ओल्ड सेटलर्सलाई आयकर छुट मामिलामा सिक्किमे नेपाली समुदाय विरूद्ध आएको निर्णयको विरोधमा यस्तो आह्वान गरिएको छ।
एसआरपी अध्यक्ष केबी राईले भोलि सम्पूर्ण सिक्किमे जनतालाई सिक्किमे नेपाली समुदायमाथि लागेको विदेशीको कलङ्क विरूद्ध आ-आफ्नो स्तरमा प्रतिवाद जनाउँदै शोक एवम् कालो दिवस मनाउन आह्वान गरे। उनले सिक्किमे नेपाली समुदायमाथि सङ्कटको स्थिति आइलाग्दा पनि खुशी मनायौँ भने गलत सन्देश जानेछ भन्दै सबैलाई भोलि काम-धन्धा बन्द गरेर शान्तिपूर्वक सडकमा उत्रिन आह्वान गरे। यसैगरी उनले आज शुक्रवार साँझसम्म मुख्यमन्तीसहित मन्त्रीहरू र विधायकहरूलाई पनि आफ्नो भूल स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्नेछ भनी बताए। अध्यक्ष राईले भने, ओल्ड सेटलर्सको बर्चस्वको लड्डाईमा सिक्किमेहरूको अस्तित्व खतरामा परेको छ। यस्तो स्थितिको निम्ति पूर्वको एसडीएफ र वर्तमान सरकार पूर्णरूपमा जिम्मेवार छन्। उनले पूर्व अनि वर्तमान सरकारहरूले बुझाएको हलफनामाकै आधारमा सुप्रिम कोर्टको यस्तो निर्णय आएको दाबी गरे एसडीएफ सरकारमा पनि सिक्किमे नेपालीहरूलाई विदेशीको दाग लगाउन प्रश्स्तै आधारहरू तयार गरिएको उनले आरोप लगाए। पुनरावलोकन याचिकामाथि बोल्दै उनले यो समस्याको समाधान सुप्रिम कोर्टमा होइन, तर सिक्किमे सरकारको हातमा रहेको बताए। उनले सरकारलाई आफ्नो भूल स्वीकार गर्न र मैदानमा उत्रिएका समूहहरूलाई समर्थन जनाउन सुझाउ दिए।