पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए) -ले क्वार्टर फाइनलमा स्थान बनायो। पाँचघरे खेल मैदानमा सोमवार भएको म्याचमा सीएनएफए-ले खरसाङको हिल्स फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गाेल अनुराग सुब्बाले दर्ता गरे। टुर्नामेण्टको दोस्रो संस्करणमा जम्मा १२ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २८ र २९ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ५ फरवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा युवा खेलाड़ीहरूलाई मञ्च प्रदान गर्न बोइज अण्डर-१८ फूटबल टुर्नामेण्टको पनि आयोजन गरिनेछ।









