मुख्यमन्त्री तामाङ राष्ट्रिय स्तरमा सिक्किमको गरिमालाई बढाउने एक सफल नेतृत्व बन्न पुगेका छन्: बिकास बस्नेत

गान्तोक: सरकार बनिएको केवल चार वर्ष भित्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङ राष्ट्रिय स्तरमा सिक्किमको गरिमालाई बढाउने एक सफल नेतृत्व बन्न पुगेका छन्। यसका लागि हामी सम्पूर्ण सिक्किमेले गर्व गर्नुपर्छ। मुख्यमन्त्रीका प्रेस सचिव एवं एसकेएम प्रचार-प्रसार प्रमुख संयोजक बिकास बस्नेतले यस्तो दाबी गरेका छन्। प्रेस सचिव बस्नेतले प्रेस विज्ञप्तिमा भनेका छन्, पूर्व मुख्यमन्त्री पवन चामलिङको सरकारकालमा यसरी अन्य राज्यका मुख्यमन्त्रीले कुनै पनि विशेष कार्यक्रममा निमन्त्रणा दिएको अहिलेसम्म थाहा पाइएको छैन। तर अहिले राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरका कार्यक्रमहरूमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सहभागी हुने अवसर प्रदान गरिँदा मुख्यमन्त्री महोदयको एक आदर्शवादी नीति, नम्रता र सरल स्वभावलाई सबैले मन पराएको पक्का भएको छ भने यसको लागि सम्पूर्ण सिक्किमे जनसाधारणले गर्व महसुस गर्नुपर्नेछ।

उनले भर्खरै मात्र ओडिसामा भएको हक्की विश्वकप उद्घाटन समारोहमा त्यहाँका मुख्यमन्त्री नवीन पटनायक तथा खेलकुदका केन्द्रिय मन्त्री अनुराग ठाकुरको प्रमुख आतिथ्यमा सिक्किमका मुख्यमन्त्री पनि सहभागी हुने क्रममा राज्यको नाम राष्ट्रिय स्तरमा उच्चारण भएर विश्वमे मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि सिक्किम राज्यको नाम झल्किएको बताएका छन्। यो खबरले आज समस्त राज्यवासीमा हर्षको माहोल छाएको छ भन्दै उनले सिक्किमेको तर्फबाट मुख्यमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

यस अतिरिक्त विगतका दिनहरूमा पनि मुख्यमन्त्रीलाई देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य राज्यका मुख्यमन्त्री तथा पूर्वोत्तर क्षेत्रका नेतृत्वहरूले ससम्मान निमन्त्रणा गरेर विभिन्न कार्यक्रमहरूमा निम्त्याउँदा सिक्किमको शिर उच्च भएको महसुस भएको प्रेस सचिवले बताएका छन्। यद्यपि, आज राज्य प्रगतिको दिशातर्फ अग्रसर भएको देख्न नसक्ने विपक्षीहरूले यस विषयमा पनि विभिन्न टिप्पणी गरेर आरोप लगाउने गरेको उनले विज्ञप्तिमा बताएका छन्। विपक्षीहरूले सिक्किमका मुख्यमन्त्रीको लोकप्रियतामाथि डाहा गरिरहेको स्पष्ट हुन्छ भनी उनले बताएका छन्। उनले पूर्व मुख्यमन्त्री पवन चामलिङले जस्तो पैसा तिरेर ख्याति कमाउने कार्य वर्तमान मुख्यमन्त्रीले अहिलेसम्म नगरेको बताएका छन्। सरकार गठन भएको केवल चार वर्षको अल्पावधिमा मुख्यमन्त्रीले गरेका कार्यहरूको पहिचान आज राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा चिन्हित भएपछि उहाँलाई यस्ता विविध तथा वृहत कार्यक्रममा निम्तो गरिने कार्य भइरहेको बताएका छन्।

About Author

Advertisement