१. विषयप्रवेश
कुनै पनि देशको हँसिलो वर्तमान र सुन्दर भविष्य त्यस देशका महान् साहित्यकार, कवि, कलाकार, दार्शनिक, महान् पुरुषहरूको योगदान त्याग र उत्सर्गको गाथासित जोडिएको हुन्छ। तिनै महान् साहित्यकार, राष्ट्र-निर्माता, सपुतहरूको असीम राष्ट्रभक्ति तथा परिश्रमले धरतीमा भोलिका निम्ति मुस्कुराउन र अतीतलाई सम्झेर गर्वित हुने बाटो देखाउँछ। ती महान् सपुतहरूका गरिमामय गाथा, कीर्ति र इतिहास सुनाई वर्तमानका पुस्तालाई प्रेरेणा दिन र भविष्यलाई बाटो देखाउन सक्षम हुन्छौं तथा ती साधक, साहित्यमहारथी हाम्रा अमूल्य निधि हुन् भनी आनन्दितहुन्छौं। भाषा-साहित्य,संस्कृति, कला, पत्रकारिता, सम्पादन आदि गर्न मनको प्रवल इच्क्षा हुनुपर्छ।

कतिले यसमा चाहेर पनि गर्न सक्दैनन कतिले नचाहँदा नचाहँदै पनि प्रतिभाले उनीहरूलाई त्यतातिर तान्छ। इच्क्षा शक्ति भए उपायहरू निस्कन्छन्। खोजेर कला-कौशल बटुलिन थाल्छन् । समाज र जातिको उत्थानका लागि शिक्षा र साहित्यको आवश्यकता पर्छ। स्रष्टाहरू व्यथित र द्रवित मनका पीडा र सुस्केराहरू बोकेर अतीतका पृष्ठभूमिलाई वर्तमानमा रचनाहरू सृजना गर्दै कटु यथार्थलाई अभिव्यक्ति दिन्छन्। उनीहरू मानव समाजको कल्याण हेतु भाषा-साहित्य संस्कृति उत्थाननमा उपदेसक बन्न पुग्छन्। यस्तै भाषा-साहित्य,पत्रकारिता, कला र सामाजिक उत्थानका लागि विगत तीस वर्षदेखि निररन्तर लागिरहेका जुझारु व्यक्ति हुन् शिबु छेत्री। विगत तीस वर्षदेखि नेपाली पत्रकारितामा लागेर नेपाली भाषालाई उच्चता दिने केही व्यक्तिहरूको नाम लिंदा शिबुको पनि लिनुपर्छ। पत्रकारिताका साथै साहित्यमा पनि विशेष रुचि राख्ने शिबुले निबन्ध तथा बाल कथाकरिताका क्षेत्रमा उच्च स्थान बनाइसकेका छन्। यस लेखकमा शिबुको जीवनी,व्यक्तित्व देखाउँदै उनको म उभिएको धरती को विभिन्न कोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ।
२. जीवनी
साहित्यिक नाम शिबु छेत्री(चिनाको नाम विद्यासागर)को जन्म जलपाइगढीको रायकत भन्ने ठाउँमा भएको हो। दुइजना दिदी,दुइजना दाजुपछि शिबुको जन्म भएको थियो, उनीपछि भाइ थिए। यसरी आमा-बुबा गरेर सात जनाको परिवार जलपाइगढीको रायकतपाडा भन्ने ठाउँमा बस्थे। रायकतपाडा बङ्गाली गाउँ थियो भने त्यहाँ एक्लोशिबुको परिवारमात्र बस्थ्यो। शिबु छेत्री गङ्गाबहादुर छेत्री तथा सरस्वती छेत्रीका साहिंला छोरा हुन्। उनको प्रारम्भिक शिक्षा रायकतपाडामानै भएको हो। उनले कला विषयमा स्नातक र पत्रकारितामा डिप्लोमासम्मको शिक्षार्जन गरेकाछन्। बाल्यकाल बुबा-आमाको कुशल निर्देशनमा बितेको यिनकोआत्मजीवनीबाट बुझ्न सकिन्छ। शिबु छेत्रीको जीवन बङ्ला तथा नेपाली भाषाको सङ्गमले बनेको छ। बाल्यकाल बङ्गाली भाषी परिवारमा बितेकोले यिनको व्यक्तित्वमा बङ्गाली भाषा र संस्कृतिको गहिरो प्रभाव परेको छ। घरमा नेपाली बोले तापनि बङ्गाली पढ्ने सौभाग्य भने बङ्गाली माध्यमका स्कूलबाट प्राप्त गरे। उच्च शिक्षामा बङ्गाली विषय रहेकाले पत्रकारितामा डिप्लोमा लिएपछि बङ्गालीभाषी पत्रिकाको माध्यमबाट पत्रकारको जीवन आरम्भ गरे। बाल्यकालदेखिनै बाबा-आमाको कुशल अनुशासनमा सरल जीवन निर्वाह गरेका शिबुको परवर्ती जीवन पनि सरल रहेको छ र वर्तमानसम्म यो जीवनशैलीलाई इमानदारपूर्वक पालन गरिरहेका छन्।‘कर्म गर तर फलको आशा नगर’ भन्ने सिद्धान्तलाई यिनले अक्षरशःपालन गरिरहेका छन्। साना–साना कार्य गरेर ठूला-ठूला अक्षरले आफ्नो नामको प्रचार गर्नेहरूलाई यिनले ठाडो चुनौती दिएका छन्। यिनको प्रसिद्ध कृति म उभिएको धरतीमा यिनले आफ्नो सानो परिचयसम्म दिएका छैनन्। दृढ सङ्कल्प भएका शिबुले आफ्नो कर्मको इमानदारीसाथ कुशालतापूर्वक पालन गरिरहेका छन्।यिनका बाबुले -‘नेपाली पत्रकारिता अत्यन्त जटिल कार्य हो, जीवन धान्न गाह्रो हुन्छ’ भन्दा भन्दै पनि यिनी पछि नहटीआफूले रोजेको विषयलाई निष्ठापूर्वक अघि बढाइरहेका छन्। साँच्चै भन्ने हो भने नेपाली पत्रकारिता अत्यन्त जटिल छ। अङ्ग्रेजी र हिन्दी पत्रकारिताको जस्तो फराकिलो संसार छैन। यस्तो कठिन परिवेशमा पनि यिनले नेपाली भाषाप्रति इमानदार भएर कर्त्तव्यर्को निर्वाह गरिरहेका छन्। यस्तै इमानदार र निर्भीक पत्रकारले गर्दा नै नेपाली भाषा जिउँदो रहेको छ।
यिनले बालसंसारलाई आफ्नो साहित्यको माध्यम बनाएका छन् भने त्यही अनुरूप विषय पनि रोजेका छन्। हुन त बालमनोविज्ञान त्यति सजिलो छैन, तर बाल मन स्वच्छ, स्वतन्त्र, पवित्र, निःस्वार्थ र निष्कलङ्क हुन्छ। उनीहरू जे बोल्छन् त्यही गर्छन्। त्यसैले शिबुलाई बालक मनले तानेको हुनसक्छ। पत्रकारिता जस्तो जटिल र कुटिल पेशामा रहेर पनि आफूलाई इमानदार बनाइराख्नसक्नु सामान्य कुरा होइन। शिबु पत्रकारिताका लागि नै जन्मेका हुन् भन्ने कुरा यिनको आत्मजीवनीबाट बुझ्न सकिन्छ। यिनको जीवनी पत्रकारिता,कथा, बालसाहित्य, निबन्ध, कविता आदिको समन्वयबाट बनेको छ भन्ने कुरा यिनको कर्मबाट जान्न सकिन्छ। यिनको प्रवृत्ति र विचार बुझ्न बल्यकालको पृष्ठभूमि, पत्रकारिता, आत्मजीवनी तथा बालसाहित्य पढ्नुपर्नेहुन्छ।
पत्रकार बन्ने उद्देश्यले पत्रकारितातिर लागेका शिबुले पत्रकारितामा डिप्लोमा गरिसकेपछि सन् १९९४तिर आनन्द बङ्गनामक बाङ्गला पत्रिकाबाट पत्रकारको जीवनी आरम्भ गर्न पुग्छन्। पाँच-छः वर्षको बाङ्ला भाषामा पत्रकारिता गरेपछि सन् २००० तिर आजभोलि नेपाली दैनिकमा काम गर्न थाल्छन्। सन् २००० माआजभोलि पत्रिका बन्द हुन्छ। सन् २००० देखि यिनीहिमालय दर्पण दैनिकमा कार्यर्कारी सम्पादकको पदमा नियुक्ति हुन्छन्। बाह्र वर्षको कुशल कार्यपछि सन्२०१२ मा यिनलाई प्रधानको सम्पादकको पदमा नियुक्ति गरिन्छ। सन् २०१२ देखि शिबुले कुशलतापूर्वक हालसम्म निर्विवाद ढङ्गले आफ्नो कर्त्तव्यको निर्वाह गरिरहेका छन्।
शिबुले आफूलाई पत्रकार वा सम्पादकको घेरोभित्र केन्द्रित गरेका छैनन्। यिनले विगत १५/२० वर्षदेखि बालसाहित्यको सृजना गर्दै आएका छन्। त्यसकै परिणामस्वरूप सन् २०१९ मा नयाँ जुत्ताशीर्षकको बालकथा सङ्ग्रह प्रकाशित भएको छ। यिनी बालसाहित्यमा मात्र सीमित नरहेर निबन्ध लेखनतिर पनि सक्रिय रहेका छन्। सन् २०२१ मा यिनको म उभिएको धरती शीर्षकको आत्मकथानात्मक निबन्ध सङ्ग्रह प्रकाशित भएको छ र निकट भविष्यमा यस्तै अरु कृतिहरू पनि प्रकाशित हुने सम्भावना रहेका छन्। भविष्यमा यिनले बाल साहित्यमाथि तीनवटा कृतिहरू प्रकाशित गर्ने प्रतिबद्धता प्रकट गरेका छन्।
३. प्रवृत्ति
शिबु छेत्री समसामयिक युगका स्वच्छन्दतावा-यथार्थतावादी साहित्यकार हुन्। यथार्थवाद यिनको प्रमुख प्रवृत्ति हो। पेशाले पत्रकार भए तापनि कर्मछेत्र भने साहित्यसँग जोडिएको छ। बहुभाषी भएकाले त्यसको प्रभाव स्पष्टरूपले यिनको लेखनशैलीमा देख्न सकिन्छ। यिनी पत्रकारिताका माध्यमबाट नेपाली भाषा-साहियत्यलाई सम्वर्धन, प्रवर्धन तथा सिर्जन गर्ने केही प्रमुख साहित्यकारमध्ये एक हुन्। विगत तीस वर्षदेखि यिनी नेपाली पत्रकारितालाई जोगाउन, विकास गराउन निरन्तर लागिरहेका छन्। अब त नेपाली पत्रकारितामा यिनको नाम नलिए त्यो अधुरो हुनजान्छ। यिनले आफूलाई पत्रकारको रूपमा त स्थापित गराएका छन्, साथै बालकथाकारितमा पनि उदियमान बनिसकेका छन्। बालकथाकारिता मात्र नभएर आख्यानात्मक निबन्धकारितामा पनि आफूलाई नेपाली साहित्ये-इतिहासमा दर्ता गराइसकेका छन्। यिनको व्यक्तित्व बङ्ला भाषा र नेपाली भाषाको सङ्गमले बनेको छ। बहुभाषी लेखन तथा सिर्जन पनि यिनको मुख्य प्रवृत्ति रहेको छ। यिनले बाङ्ला र नेपाली भाषामा समानरूपले लेखापढीसाहित्य सिर्जन गर्नसक्छन्। बाङ्ला भाषाप्रति यिनको विशेष आग्रह रहेको छ त्यसैले म उभिएको धरती निबन्धमा यसको उदाहरण स्पष्टरूपले देख्न सकिन्छ। सामाजिक यथार्थ तथा बालमनोविज्ञान यिनको लेखनको मुख्य विशेषता मान्न सकिन्छ। यिनको बाल कथासङ्ग्रह नयाँ जुत्तामा शिशुहरूका चाहना र आकाङ्क्षालाई वैज्ञानिक ढङ्गले अघिसारेका छन् साथै विज्ञानले दिएको वरदान मानिने मोबाइल फोनले कसरी ससाना बालक-बालिकाहरूलाई आफ्नो वसमा पारेरबालकपननै खोसेको छ भन्ने विषयलाई निर्भीकताका साथ पाठकका अघि खुल्ला पारेका छन्। यस प्रकारले निर्भीकता पनि यिनको लेखनको मुख्य प्रवृत्ति रहेको छ। सामाजिक-यथार्थवादी तथा बालमनोविज्ञानमा आधारित कथा तथा निबन्ध लेख्ने शिबुले देखेभोगेका र अनुभव गरेका विषयलाई अघि सारेका छन्। विषयवस्तुमा कारूणिकता र भावुकता पनि यिनको प्रवृति हो। यिनका निबन्धहरूले नेपाली विशेष गरी दार्जीलिङ समाजका ऐतिहासिक सत्यता, जातीय विचार, समाजको प्रतिनिधत्व गरेर हिंड्ने नेताहरूको स्वार्थ र पदलोलुपता आदि सम्बद्ध विषयहरूको उद्घाटन गरेका छन्। जातीय चिन्तन पनि यिनका लेखनमा पाइने अर्को मुख्य प्रवृत्ति हो। यिनका कथा तथा निबन्धमा चरित्र भन्दा घटनाले बढी महत्व पाएका छन्। यिनी यथार्थभित्र पनि रोचकता ल्याउनसक्ने साहित्यकार हुन्। जीवनमा घटेका विभिन्न घटनामार्फत विभिन्न प्रकारका सन्देश दिनु पनि यिनको महत्त्वपूर्ण प्रवृत्ति रहेको छ। विषम परिस्थितिमा आफूलाई कसरी संयम राख्न सकिन्छ र आध्यात्मिक चिन्तनले जीवनमा कसरी मार्गदर्शन गराउँछ भन्ने विशेषता पनि यिनको दर्शनबाट बुझ्न सकिन्छ। मित्यव्ययिता, सरलता, अनुशासित भएर पनि जीवन चल्छ भन्ने राम्रो सन्देश दिने साहित्यकार हुन् शिबु। सरलता, सहजता पनि यिनको लेखनको प्रमुख प्रवृत्ति रहेको छ।
४. कृतित्व
शिबु छेत्रीले पत्रकारिता, बालकथा, निबन्ध आदि विविध विषयमा कलम चलाउँदै आएका छन्।यिनी उल्लिखित तीनै विषयमा सफलम छन्। यद्यपि यिनलाई पत्रकारिताले ख्याति दिए तापनि कथा तथा निबन्धमा पनि उत्तिकै सफल छन्। तल यिनका साहित्यिक कृतित्वको सङ्क्षेपमा चर्चा गरिएको छ-
(क) पत्रकार
शिबु एकजना सफल र दक्ष पत्रकार हुन्। पत्रकारिता उनलाई कसैले कर लगाएर गरिएको होइन। पत्रकारिता यिनले आफ्नो स्वविवेकले रोजेका हुन्। यिनका अग्रज तथा अनुजहरूले पत्रकारिता पेशा छोडेर अन्य पेशाअप्नाए तापनि यिनले आफ्नो कर्त्तव्य ठानी त्यसको निष्ठापूर्वक निर्वहन गरिरहेका छन्। त्यसैले त यिनले-“इच्छाशक्ति, दूर दृष्टि, धैर्य अनि हरेक चुनौतीसित लड्नसक्ने आत्मविश्वास हुनुपर्छ पत्रकार बन्नका लागि। पत्रकारिता पेशा होइन जिम्मेवारी हो। पत्रकारिता साधना, तपस्या हो। पत्रकार बन्न पटक्कै सजिलो छैन। आफ्ना लागि नभएर समाजका लागि केही गर्नुपर्छ भन्ने सोच थियो। त्यसैले पत्रकारिता रोजेँ”।(पत्रकारिता एक अवसर,पृ०१२४) भनेर आत्मस्वीकृति गरेका छन्। आफूले रोजेको पेशालाई साधना, तपस्या हो भन्दै विगत २८ वर्षदेखि अनेक अफ्ठ्यारा समस्या र चुनौतिहरू आउँदा पनि निरन्तर लागिरहेका छन्।बाङ्ला भाषाका राम्रा अध्यता र कला विषयमा स्नातक र पछि पत्रकारितामा डिप्लोमा गरेपछि कोल्डफिल्ड टाइम्स्बाट आफ्नो कर्त्तव्यसाधनाको यात्राआरम्भ गर्छन् । केही वर्ष बाङ्लाभाषामा पत्रकारिता गरेपछि आजभोलि नेपाली दैनिकका लागि सेवा गर्न थाल्छन्। सन् २००० मा हिमालय दर्पणमा कार्यकारी सम्पादकको कर्त्तव्य निर्वाह गर्दागर्दै सन् २०१२ देखि मुख्य सम्पादक भएर निर्विवादरूपले स्वच्छ, स्वस्थ ढङ्गले हालसम्म कर्त्तव्यको पालना गरिरहेका छन्। सम्पादकको जस्तो दायित्वपूर्ण पदमा रहेर यिनले निरन्तर सेवा दिइरहेका छन्। सम्पादक भएर यिनी केवल सम्पादकको पासोमा बाँधिएका छैनन्। समय-समयमा आफ्नो लेखनीद्वारा राम्रा-राम्रा लेखहरू लेखेर समाजलाई दिशानिर्देश गरिरहेका छन्। विभिन्न लेखादिका साथै बालमनोविज्ञानमा आधारित कथाहरू पनि निरन्तर प्रकाशित भइरहेका छन्। सन् २०१९ मा नयाँ जुत्ता शीर्षकको बालकथासङ्ग्रह निकालेर आफ्नो प्रतिभालाई प्रस्फुटित पारेका छन्। यसरी समग्रमा भन्नुपर्दा शिबु निडर र निष्पक्ष पत्रकार हुन्। पत्रकार बनेर नेपाली समाजलाई दीर्घकालीन सेवा दिनसक्नु नै यिनको मूल प्राप्ति र योगदान हो।
(ख) कथाकार
शिबु क्षेत्री एक जना कुशल र सफल कथाकार हुन् भन्ने कुरा सन् २०१९ मा छापिएको बालकथा सङ्ग्रह नयाँ जुत्ताले स्पष्ट पारेको छ। हुन त यिनी बालसाहित्यमा बिगत १५ वर्षभन्दा अधिक समयदेखि निरन्तर लागिरहेका छन् तर कृतिकारका रूपमा भने सन् २०१९ मा देखिन्छन्। यिनको बालकथासङ्ग्रहमा २० वटा बालमनोविज्ञानसित जोडिएका कथाहरू सङ्कलित छन्। यिनको नयाँ जुत्ता सङ्ग्रहमा-नयाँ नयाँ जुत्ता, अक्षर सिकेको दिन, कण-कणमा समाहित, आमा,नपढ्नेले यसरी नै दुःख पाउँछ, कुलतलाई तिलाञ्जली, रोग बुढ्यौली नलागोस्, बुबा डोको नफ्याँक्नु होला, रवीनले चालै पाएन,स्कूलको छानो, सविनालेछाता हराइन्, स्कूल जाँदिन, बुबा खोइ, अनुशासनहीनताको परिणाम, बुट पालिस गर्ने केटो, केशरले फुच्चे बालकलाई घरमा ल्यायो, विजयले हात नधोई खपाखप खाँदा, छुट्टिन्छौं भेट्नका निम्ति नै, धेर लोभ गर्दा विलाप र एकता नै बल गरेर २० वटा कथाहरू सङ्कलित छन्। लघु आकारमा रचिएका यी कथाहरूले बालक मनका विभिन्न भावना, सोच, चाहना र इच्छा कस्ता हुन्छन् भनेर देखाउने चेष्टा गरेका छन्। यी कथाहरूले विभिन्न उमेरका बालक-बालिकाहरूका मनलाई टटोल्ने चेष्टा गरेका छन्। हुन त बाल-बालिकाहरूको मन बुझ्न सजिलो छैन। बाल-बालिकाहरूका मनको भाव खोज्नु एउटा मनोविज्ञानको विषय हो।मनोविज्ञान एउटा जटिल विषय हो, त्यसमा पनि बालमनोविज्ञान अझ जटिल हुन्छ। यिनले बालमनोविज्ञान विषय छानेर आफूलाई पनि मनोविज्ञानसित जोडेका छन् र नवीन सर्जककाको रूपमा उभिएका छन्।
(ग) निबन्धकार
शिबु छेत्रीको पाठकसमक्ष खुलेर आएको साहित्यिक व्यक्तित्व निबन्धकारिता हो। यिनी एकजना सफल निबन्धकार हुन् भन्ने कुरा उनको प्रकाशित आत्मपरक निबन्ध म उभिएको धरतीले स्पष्ट पारेको छ। आधुनिक निबन्धकाजनक फ्रान्सिस् बेकनले ‘म नै मेरो निबन्धको विषय हुँ’ भने जस्तै शिबुले पनि आफूले बाल्यकालदेखि भोग्दै आएका विभिन्न अनुभव र विभिन्न घटना आदिलाई विभिन्न शीर्षकमा राखेर निबन्धको स्वरूप दिएका छन्। लक्ष्मीप्रसाद देवकोटाले “निबन्ध पाण्डित्य प्रदर्शन होइन, यो त त टेबल गफ हो’ भने जस्तै शिबुले पनि आफूले जीवन यात्रामा भोगेका, देखेका र समय-समयमा अनुभव गरेका भावनालाई जस्ताको तस्तै टिपेका छन्। यिनको म उभिएको धरतीमा विभिन्न शीर्षकका चौधवटा निबन्ध सरल र बोलचालको भाषामा लेखिएका छन्। यी निबन्ध पढ्दा दिमाग ख्याउनुपर्ने वा घरिघरि शब्दकोश पल्टाउनु वा गुगललाई सोध्नुपर्ने खालका छैनन्। सबै निबन्ध पठनीय र मननीय छन्। सन् २०२१ मा प्रकाशित म उभिएको धरतीले उनलाई निबन्धकारको कोटिमा राखेको छ र यिनको व्यक्तित्व पाठकका अघि खुलेर आएको छ। यसका साथै विगत तीस वर्षमा यिनले गरेका सम्पूर्ण कार्यको मूल्याङ्कन हुन बाँकी छ।
यिनको उल्लिखित निबन्ध सङ्ग्रह बाहेक- जिन्दगीमा सफलता पाउन श्री कृष्णझैं दृश्य-अदृश्य सहयोग हुन्छ, अरुलाई वास्ता नै नगर्ने अत्यन्त स्वार्थी भइसक्यो दार्जीलिङ, कति साथीको धागो चुँडियो कति धागोमा जिन्दगी उन्दै होलान्, नेपाली साहित्य पुरस्कार पत्रकारिता २०२२, जहाँ छन् बुद्धका आँखा, नरायणले दीपालाई आँखा दियो,वैज्ञानिक खेतीले दिन्छ दामः शरण कुमार रिजाल, बालक बालिकाहरूलाई परिवार समाज र सामाजिक, अन्तक्रियाको महत्व र भूमिकाबारे केही थाहा छैन, पत्रकारितामा पनि विकृति पसेको छः शरद प्रधान, वस्तुपरक भन्दा व्यक्तिपरकतामाथि महत्व दिने हाम्रा समाजः पेम्पा तामाङआदि यिनका हिमालय पत्रिकका दर्पणका विभिन्न अङ्कमा प्रकाशित लेख-निबन्धहरू हुन्।विभिन्न समयमा छापिएका निबन्ध तथा लेखहरू वस्तुपरक, विवरणात्मक, आत्मपरक, जातीयता, राष्ट्रियता, भावुकता जस्ता विषयमा आधारित छन्। यिनका निबन्ध पढ्दा सोझै गाउँमा पुगेजस्तो, मित्रसँग गफ गरेजस्तो, परिवारसँग बसेर मन बिसाएजस्तो अनुभव हुन्छ। मनमा चस्क्क चसक्क घोंच्ने विषयले गर्दा यिनी सबैका प्रिय बनेका छन् यो नै यिनका निबन्धको उपलब्धि र प्राप्ति हो। क्रमशः










