कालचिनी: आगामी ८ फरवरी २०२३ देखि अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको आयोजनामा सम्पन्न हुने १२औँ म्हाणी दुङ्सुर कार्यक्रमको तयारी विषय लिएर आइतबार हेमिल्टनगञ्ज धर्मचक्र बुद्धिष्ट मोनास्ट्रीमा संघको एउटा विशेष सभा सम्पन्न भयो| उक्त सभामा अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको महासचिव आचार्य सांग्ये छ्योफेल लगायत संघका केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो| सभा पश्चात पत्रकार सम्मेलन मार्फत संघको महासचिव आचार्य सांग्ये छ्योफेलले बुद्ध गयामा आगामी ८ फरवरीदेखि शुरु हुने १२औँ म्हाणी दुङ्सुर कार्यक्रमको तयारी सबै भइसकेको तर दुखको कुरा बुद्ध गया जानलाई गया-कामाख्या एक्सप्रेस रेल नै रद्द भएकोमा सबै निराश बनेको बताए|
रेल मन्त्रीदेखि पूर्वोत्तर सीमान्त रेलवेका मालीगाउँ स्थित प्रबन्धक, लगायत सांसद राजु विष्ट, सांसद जोन बारला र सांसद डा. जयन्त राय समक्ष ज्ञापन पनि दिएको तथापि आजसम्म कुनै जवाफ रेल विभागबाट नपाएको अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको महासचिव आचार्य सांग्ये छ्योफेलले जनाएका छन्| तथापि १२औँ म्हाणी दुङ्सुर पूजामा जानलाई वैकल्पिक रुपमा अन्य रेल तथा वाहनको व्यवस्था पनि संघले गर्ने महासचिव आचार्य सांग्ये छ्योफेलले थप जनाएका छन्|