दार्जिलिङ: चुनावी समयमा चर्चामा आएको कथित ‘चना दाल’ प्रकरणसम्बन्धी उजुरीका आधारमा दार्जिलिङ सदर पुलिस थानाबाट नोटिस जारी गरिएको जानकारी प्राप्त भएको छ। दार्जिलिङ सदर पुलिस थानबाट जीटीएका पूर्व प्रमुख कार्यपाल अनित थापा र पूर्व सभासद सतीश पोखरेलको नाममा नोटिस जारी गरिएको जानकारी प्राप्त भएको छ। पुलिस थानाबाट पत्र प्राप्त भएको पुष्टि गर्दै पूर्व जीटीए प्रमुख अनित थापाले वास्तविक तथ्य स्पष्ट पार्न भइरहेको अनुसन्धानको स्वागत गर्दै पूर्ण सहयोग गर्ने बताएका छन्। चुनावी समयमा मिडियामा यो विषय सार्वजनिक भएपछि आफूले सम्बन्धित अधिकारीहरूसँग गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) को पत्राचार, आर्थिक संलग्नता वा वितरणबारे बुझेको र जीटीएको कुनै पत्राचार तथा आर्थिक संलग्नता नरहेको जानकारी पाएको उनले उल्लेख गरेका छन्। मिडियाका समाचार र हल्लाले जनमानसमा भ्रम तथा धारणा निर्माण गर्न सक्ने भएकाले सत्यतथ्य बाहिर ल्याउन औपचारिक छानबीन आवश्यक रहेको उनको भनाइ छ। हाल जीटीएमा सरकारी प्रशासन र अधिकारीहरू रहेको सन्दर्भ उल्लेख गर्दै अनुसन्धानकर्ताहरूले सहजै अभिलेख जाँच गरी जीटीएको संलग्नता भए नभएको पत्ता लगाउन सक्ने र आफूले प्रक्रियाअनुरूप पूरा सहयोग गर्ने उनले दोहोर्याएका छन्।





