खरसाङ: दार्जिलिङ पुलिसको आयोजनामा दार्जिलिङमा सञ्चालन भइरहेको टी ईस्टा फेस्टअन्तर्गत खरसाङ क्षेत्रमा आईतवार ट्रेकिङ कार्यक्रम सम्पन्न भएको छ। ‘डी हाईक’ नाम दिइएको उक्त कार्यक्रममा २०० भन्दा बढी मानिसहरूको सहभागिता रहेको थियो। खरसाङको ऐतिहासिक सम्पदा, प्राकृतिक सौन्दर्य तथा चिया बगानमा आधारित पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय युवाहरूद्वारा गठित संस्था ‘लोकल ट्रेकर्स’को तत्वावधानमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।लगभग सात किलोमिटर लामो ट्रेकिङमा स्थानीय बासिन्दाहरुसँगै बाहिरबाट आएका पर्यटकहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए। ट्रेकिङ सफलतापूर्वक सम्पन्न भएपछि सहभागीहरूलाई स्थानीय परिकार खुवाउनुका साथै प्रमाण पत्र वितरण गरिएको थियो। कार्यक्रममा ‘देखो दार्जिलिङका’ संस्थापक मिङमा शेर्पा तथा जीटीएको पर्यटन विभागका दावा ग्याल्पो शेर्पाको विशेष उपस्थिति रहेको थियो। उनीहरूले ट्रेकिङ तथा खरसाङको पर्यटन विकासका सम्भावनाबारे आफ्नो मन्तव्य राखेका थिए।

‘लोकल ट्रेकर्स’का संस्थापक नर्बु छिरिङ शेर्पाले कार्यक्रमबारे पत्रकारहरुलाई विस्तृत जानकारी दिँदै यस प्रकारका गतिविधिले खरसाङको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास राखेका छन्। स्थानीय युवाहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमले खरसाङका प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटकीय स्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन मद्दत पुग्ने अपेक्षा पनि गरेका छन्।





