दार्जिलिङ: दार्जिलिङ हिमालयन रेलवे (डीएचआर) को घुम विन्टर फेस्टिभल २०२६ को दोस्रो दिन आईतवार भव्य सम्मान समारोह तथा सरसफाइ अभियानका साथ सम्पन्न भएको छ। विश्व सम्पदा सूचीमा रहेको डीएचआर नेटवर्कभरि आईतवार प्रतिष्ठित ‘डीएचआर स्पिरिट्स अफ द हिल २०२६’ पुरस्कार समारोह र ‘प्लोग्वार्ट्स एक्सप्रेस’ सरसफाइ अभियान सफलतापूर्वक सञ्चालन गरियो।

समारोहमा कटिहारका मण्डल रेल प्रबन्धकले सम्पदा संरक्षण, पर्यावरण बचाउ, समाजसेवा तथा दार्जिलिङ पहाडको गौरव बढाउन उत्कृष्ट योगदान पुर्याउने विभिन्न व्यक्ति, संस्था र युवा प्रतिभाहरूलाई सम्मान प्रदान गरे। यसै अवसरमा, ‘प्लोग्वार्ट्स स्कूल अफ प्लोगिङ’ को सहकार्यमा डीएचआरका सबै स्टेशनहरूमा सरसफाइ अभियान चलाइएको थियो। अभियानमा सहभागी स्वयंसेवकहरूले ऐतिहासिक रेल स्टेशन र लिक वरपर दौडिँदै फोहोर सङ्कलन गरी पहाडको स्वच्छ र दिगो पर्यावरणप्रति डीएचआरको प्रतिबद्धतालाई थप बलियो बनाएका छन्। दार्जिलिङ पहाडको समृद्ध सांस्कृतिक सम्पदा, पर्यावरण संरक्षण र सामुदायिक एकताको उत्सवका रूपमा मनाइँदै आएको डीएचआर घुम विन्टर फेस्टिभल २०२६ निरन्तर जारी छ।





