अभिषेक, खुशी, प्रबल र सन्दिया च्याम्पियन
गान्तोक: सिक्किमको राजधानी गान्तोकको रेशिथाङस्थित खेलगाउँमा जारी चौथो एनटीपीसी राष्ट्रिय वरीयता आर्चरी प्रतियोगिता २०२६ अन्तर्गत जुनियर च्याम्पियनसिपका प्रतिस्पर्धाहरू आज सम्पन्न भएका छन्। जुनियरतर्फका चारवटै विधामा नकआउट चरण र फाइनल खेल पूरा भएसँगै विजेताहरूको टुङ्गो लागेको हो।
प्रतियोगिताको जुनियर रिकर्भ पुरुषतर्फ उत्तर प्रदेशका अभिषेकले फाइनलमा ७-३ सेट अङ्कको जित निकाल्दै च्याम्पियनसिपको उपाधि जितेका छन्। सोही विधामा राजस्थानका कृष्ण कुमार ३ सेट अङ्कसहित उपविजेता बने भने हरियाणाका अगस्त्य सिंह ६ सेट अङ्कसहित तेस्रो स्थानमा रहे।
त्यस्तै, जुनियर रिकर्भ महिलातर्फ झारखण्डकी खुशी कुमारीले ७-१ सेट अङ्कको एकतर्फी जित दर्ता गर्दै उपाधि हात पारिन्। हरियाणाकी अन्नु १ सेट अङ्कसहित दोस्रो भइन् भने रेलवे खेल प्रवर्द्धन बोर्डकी माधवी चौहान ७ सेट अङ्कसहित तेस्रो स्थानमा रहिन्।
कम्पाउन्ड विधातर्फ जुनियर पुरुषमा राजस्थानकै खेलाडीबीच कडा प्रतिस्पर्धा देखियो। जसमा राजस्थानका प्रबल प्रतापले आफ्नै राज्यका हर्ष कुमारलाई १४७-१४५ अङ्कले पराजित गर्दै स्वर्ण पदक जिते। हर्ष कुमार १४५ अङ्कसहित दोस्रो हुँदा हरियाणाका लभप्रीत सिंह १४७-१४६ अङ्कको झिनो अन्तरको जितसहित तेस्रो स्थानमा रहे।

यसैगरी, जुनियर कम्पाउन्ड महिलातर्फ उत्तर प्रदेशकी सन्दियाले दिल्लीकी कुमुद सैनीलाई १४८-१४३ अङ्कले पराजित गर्दै च्याम्पियन बनिन्। कुमुद सैनी १४३ अङ्कसहित उपविजेता बन्दा तेस्रो स्थानका लागि भएको रोमाञ्चक शूट-अफमा दिल्लीकी लेकिशा गाहल्याणले १४१(१०)-१४१(९) को नतिजा निकाल्दै कांस्य पदक जितिन्।
जुनियर विधाका खेलहरू सकिएसँगै प्रतियोगिता अब सब-जुनियर चरणमा प्रवेश गर्नेछ। आयोजकका अनुसार सब-जुनियर च्याम्पियनसिप आगामी २८ नोभेम्बर २०२६ देखि सुरु हुनेछ।
भारतीय आर्चेरी सङ्घ ले सिक्किम आर्चेरी सङ्घ सँगको सहकार्यमा आयोजना गरिरहेको यो राष्ट्रिय वरीयता तीरन्दाजी प्रतियोगिता आगामी ३० नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ।





