गान्तोकमा चौथो एनटीपीसी राष्ट्रिय वरीयता आर्चरी प्रतियोगिताको जुनियर चरण सम्पन्न

FB_IMG_1795717864272

अभिषेक, खुशी, प्रबल र सन्दिया च्याम्पियन

​गान्तोक: सिक्किमको राजधानी गान्तोकको रेशिथाङस्थित खेलगाउँमा जारी चौथो एनटीपीसी राष्ट्रिय वरीयता आर्चरी प्रतियोगिता २०२६ अन्तर्गत जुनियर च्याम्पियनसिपका प्रतिस्पर्धाहरू आज सम्पन्न भएका छन्। जुनियरतर्फका चारवटै विधामा नकआउट चरण र फाइनल खेल पूरा भएसँगै विजेताहरूको टुङ्गो लागेको हो।
​प्रतियोगिताको जुनियर रिकर्भ पुरुषतर्फ उत्तर प्रदेशका अभिषेकले फाइनलमा ७-३ सेट अङ्कको जित निकाल्दै च्याम्पियनसिपको उपाधि जितेका छन्। सोही विधामा राजस्थानका कृष्ण कुमार ३ सेट अङ्कसहित उपविजेता बने भने हरियाणाका अगस्त्य सिंह ६ सेट अङ्कसहित तेस्रो स्थानमा रहे।
​त्यस्तै, जुनियर रिकर्भ महिलातर्फ झारखण्डकी खुशी कुमारीले ७-१ सेट अङ्कको एकतर्फी जित दर्ता गर्दै उपाधि हात पारिन्। हरियाणाकी अन्नु १ सेट अङ्कसहित दोस्रो भइन् भने रेलवे खेल प्रवर्द्धन बोर्डकी माधवी चौहान ७ सेट अङ्कसहित तेस्रो स्थानमा रहिन्।
​कम्पाउन्ड विधातर्फ जुनियर पुरुषमा राजस्थानकै खेलाडीबीच कडा प्रतिस्पर्धा देखियो। जसमा राजस्थानका प्रबल प्रतापले आफ्नै राज्यका हर्ष कुमारलाई १४७-१४५ अङ्कले पराजित गर्दै स्वर्ण पदक जिते। हर्ष कुमार १४५ अङ्कसहित दोस्रो हुँदा हरियाणाका लभप्रीत सिंह १४७-१४६ अङ्कको झिनो अन्तरको जितसहित तेस्रो स्थानमा रहे।

यसैगरी, जुनियर कम्पाउन्ड महिलातर्फ उत्तर प्रदेशकी सन्दियाले दिल्लीकी कुमुद सैनीलाई १४८-१४३ अङ्कले पराजित गर्दै च्याम्पियन बनिन्। कुमुद सैनी १४३ अङ्कसहित उपविजेता बन्दा तेस्रो स्थानका लागि भएको रोमाञ्चक शूट-अफमा दिल्लीकी लेकिशा गाहल्याणले १४१(१०)-१४१(९) को नतिजा निकाल्दै कांस्य पदक जितिन्।
​जुनियर विधाका खेलहरू सकिएसँगै प्रतियोगिता अब सब-जुनियर चरणमा प्रवेश गर्नेछ। आयोजकका अनुसार सब-जुनियर च्याम्पियनसिप आगामी २८ नोभेम्बर २०२६ देखि सुरु हुनेछ।
​भारतीय आर्चेरी सङ्घ ले सिक्किम आर्चेरी सङ्घ सँगको सहकार्यमा आयोजना गरिरहेको यो राष्ट्रिय वरीयता तीरन्दाजी प्रतियोगिता आगामी ३० नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ।

About Author

Advertisement