सांसद हर्षवर्धन श्रृङ्गलाले दार्जिलिङका युवा तथा विभिन्न सांस्कृतिक समुदायसँग मनाए संविधान दिवस

IMG-20261126-WA0063

दार्जिलिङ: राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले आज दार्जिलिङमा विद्यार्थी, युवाहरू, शिक्षाविद् तथा विभिन्न सांस्कृतिक र सामुदायिक समूहका प्रतिनिधिहरूसँग संविधान दिवस मनाएका छन्। यस अवसरमा उनले भारतीय संविधान, देशका लोकतान्त्रिक मूल्यहरू र नागरिकको जिम्मेवारीबारे अर्थपूर्ण अन्तरक्रिया गरे।
कार्यक्रममा विभिन्न क्षेत्रका मानिसहरूको सहभागिता रहेको थियो जसले दार्जिलिङको समृद्ध सांस्कृतिक विविधता र एकताको भावना झल्काएको थियो। कार्यक्रममा साउथफिल्ड कलेजकी प्राचार्य डा. अनुराधा राई, दार्जिलिङ हिल विश्वविद्यालयकी डा. स्मृति राई, दार्जिलिङ सरकारी कलेजका प्रा. प्रज्वल प्रधान, विभिन्न संस्थाका मेधावी विद्यार्थीहरू तथा दार्जिलिङका ठूलो संख्यामा प्रतिभाशाली युवाहरू उपस्थित रहेका थिए।अनुसूचित जाति, नेवार, राई, याखा, देवान, खास हितकारी, तामाङ, योल्मो, मारवाडी, गुरुङ, लिम्बू तथा दार्जिलिङ देन्जोङ्पा भुटिया बौद्ध संघलगायत विभिन्न समुदायका प्रतिनिधिहरूको सहभागिताले दार्जिलिङको विविधता र साझा अपनत्वको भावनालाई प्रतिबिम्बित गरेको थियो। आफ्नो सम्बोधनका क्रममा हर्षवर्धन श्रृङ्गलाले संविधान दिवसको महत्त्व र भारतीय संविधानको मूल भावनाबारे बोल्दै न्याय, स्वतन्त्रता, समानता र बन्धुत्वका मूल्यहरू देशको लोकतान्त्रिक यात्राका आधार रहेको बताए। उनले भारतीय संविधानका शिल्पकार बाबासाहेब डा. बी. आर. अम्बेडकरप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। यसको साथै, संविधान निर्माणमा योगदान पुर्‍याउने दार्जिलिङका दुई सुपुत्र डम्बरसिंह गुरुङ र अरिबहादुर गुरुङ जो संविधान सभाका सदस्य थिए, उनीहरूको योगदानलाई स्मरण गरे। उनले भारतको संविधानको आधिकारिक नेपाली अनुवादमा योगदान पुर्‍याउने विद्वान डा. योगेश खाती र डा. पदम नेपाललाई पनि सम्मानपूर्वक स्मरण गरे। २६ नोभेम्बर २०२५ मा सार्वजनिक गरिएको नेपाली अनुवादले संविधानलाई आफ्नै भाषामा बुझ्न र जनतासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए। “संविधान ‘हामी, भारतका जनता’ भन्ने शब्दबाट सुरु हुन्छ र यसमा हामी प्रत्येक समेटिएका छौँ। संविधानले हामीलाई अधिकार दिन्छ तर जिम्मेवारी पनि सुम्पन्छ। हामी सबैभन्दा पहिले भारतीय हौँ र हाम्रो देशको एकता जोगाउनु, संवैधानिक संस्थाहरूको सम्मान गर्नु तथा संविधानका मूल्यहरूलाई कायम राख्नु हाम्रो साझा जिम्मेवारी हो,” सांसद श्रृङ्गलाले भने।
उनले विद्यार्थी, युवाहरू र विभिन्न समुदायका प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरेका थिए। उनीहरूको विचार सुन्नुभयो र संविधानबारे बुझ्न, आफ्ना अधिकारप्रति सचेत रहन तथा समाजमा सक्रिय योगदान दिन प्रेरित गरे। भारतको भविष्य निर्माणमा युवाहरूको भूमिकाबारे बोल्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अघि बढिरहेको विकसित भारत २०४७ को लक्ष्य शिक्षित, प्रतिबद्ध, मेहनती र जिम्मेवार युवाहरूको योगदानबाट पूरा हुने बताए। कर्तव्य र सेवाको महत्त्वमा जोड दिँदै श्रृङ्गलाले युवाहरूलाई संविधानका मूल्यहरू आफ्नो दैनिक जीवनमा अप्नाउन, आफ्ना समुदायलाई सशक्त बनाउन र देशको समग्र विकास तथा राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे।

About Author

Advertisement