एनजेपी स्टेशनमा कञ्चनजङ्घा एक्सप्रेसबाट २.२४ करोडको विदेशी सुन बरामद; दुई पक्राउ

Screenshot_20261126_205414_Chrome

​सिलगढ़ी। राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) को सिलगढ़ी एकाइले न्यु जलपाइगुड़ी (एनजेपी) रेलवे स्टेशनमा कञ्चनजङ्घा एक्सप्रेस (१३१७६) बाट १६ थान सुनका बिस्कुट बरामद गरेको छ। बरामद गरिएको सुनको तौल १.८५६ किलोग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य करिब २ करोड २४ लाख ६५ हजार भारतीय रुपैयाँ रहेको छ। सुन तस्करीको आरोपमा त्रिपुराका दुई निवासी विधान दास (४७) र सञ्जय दास (३७) लाई पक्राउ गरिएको छ।
​डीआरआई स्रोतका अनुसार दुवै आरोपित त्रिपुराबाट सुन लिएर कोलकाता जाँदै थिए। गोप्य सूचनाका आधारमा डीआरआईका अधिकारीहरूले एनजेपी रेलवे स्टेशनमा रेलको कोच नम्बर ८ मा खानतलासी गरेका थिए। तलासीका क्रममा सञ्जय दासको पाइन्टमा बनाइएको विशेष गोजीबाट १० थान र विधान दासको साथबाट ६ थान सुनका बिस्कुट बरामद भएको हो। दुवैले सुनको कुनै पनि वैध कागजात पेस गर्न सकेनन्।

डीआरआईले दुवै आरोपितलाई सिलगढ़ी अदालतमा पेस गरेको थियो। अदालतले उनीहरूको जमानत निवेदन खारेज गर्दै १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ। यस मुद्दाको आगामी सुनुवाइ आगामी १० डिसेम्बरका लागि तोकिएको छ। डीआरआईले तस्करी सञ्जालबारे थप अनुसन्धान गरिरहेको छ।
​

About Author

Advertisement