विलियम्सन बने डरबन सुपर जाइण्ट्सको मुख्य प्रशिक्षक

IMG-20261126-WA0051

नयाँ दिल्ली: डरबन सुपर जाइण्ट्सले एसए२०-को २०२७ सीजनको निम्ति न्यूजील्याण्डका पूर्व कप्तान केन विलियम्सनलाई आफ्नो नयाँ मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। उनले टोलीमा लान्स क्लूजनरको स्थान लिनेछन्। यसअघि विलियम्सनले खेलाड़ीको रूपमा यस टोलीको प्रतिनिधित्व गरिसकेका छन्। यसपाली नयाँ जिम्मेवारीको साथ विलियम्सन अब खेलाड़ीदेखि प्रशिक्षकको भूमिकामा देखिनेछन्। कुनै टोलीको मुख्य प्रशिक्षकको रूपमा यो उनको पहिलो जिम्मेवारी हुनेछ। क्लूजनर एसए२० लीगको पहिलो सीजन (२०२३)-देखि नै डरबन सुपर जाइण्ट्सको मुख्य प्रशिक्षक पदमा रहेका थिए। उनको पद छोड़ेपछि फ्रेञ्चाइजीले आधिकारिक बयान जारी गरी विलियम्सनको नियुक्तिको पुष्टि गऱ्यो। विलियम्सनले यसअघि २०२५ र २०२६ सीजनमा डरबन सुपर जाइण्ट्सको तर्फबाट खेलेका थिए। यस अवधि उनले १५ वटा म्याचमा ३४३ रन बनाएका थिए। फ्रेञ्चाइजीले उनलाई आउँदो सीजनको निम्ति खेलाड़ीको रूपमा रिटेन पनि गरेको थियो तर अहिले उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ। फ्रेञ्चाइजीको भनाइअनुसार, मुख्य प्रशिक्षकको रूपमा विलियम्सनले आफूसँग अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव, खेलको गहिरो जानकारी र शीर्ष स्तरमा कप्तानीको अनुभव ल्याउनेछन्। उनको मार्गदर्शनमा डरबन सुपर जाइण्ट्सले आफ्नो प्रदर्शनमा निरन्तरता ल्याउनको साथै खिताब जित्ने दिशामा कदम बढ़ाउने फ्रेञ्चाइजीलाई आशा रहेको छ। डरबन सुपर जाइण्ट्समा विलियम्सनले अन्य कोचिंग स्टाफहरूसँग मिलेर काम गर्नेछन्। टोलीका क्रिकेट निदेशक टम मूडी हुन्। यसरी रयान कुक ब्याटिंग प्रशिक्षक, भरत अरुण पेस बलिंग प्रशिक्षक, कार्ल क्रो स्पिन बलिंग प्रशिक्षक र कुशेन किशन फील्डिंग प्रशिक्षक हुन्। केन विलियम्सनले यस सालको शुरुवातमा ईंग्ल्याण्डविरुद्ध न्यूजील्याण्डको पहिलो टेस्ट म्याचपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। उनी टेस्ट क्रिकेटमा न्यूजील्याण्डको तर्फबाट सर्वाधिक रन बनाउने ब्याटर हुन्। उनले ११० वटा टेस्ट म्याचमा ५४.०६-को औसतले ९५१५ रन बनाएका छन्। यसबाहेक विलियम्सनको नाममा १७५ वटा वनडे म्याचमा ७२५६ र ९३ वटा टी२० अन्तर्राष्ट्रिय म्याचमा २५७५ रन रहेको छ।

About Author

Advertisement