गान्तोक। सिक्किमका माननीय राज्यपाल दुष्यन्त गौतमसँग आज लोकभवनमा सिक्किम विश्वविद्यालयका उपकुलपति प्रो. शान्तनु कुमार स्वाईंले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सो अवसरमा विश्वविद्यालयको हिन्दी विभागका सहायक प्राध्यापक डा. प्रदीप त्रिपाठीको समेत उपस्थिति रहेको थियो।
भेटका क्रममा उपकुलपति प्रो. स्वाईंले माननीय राज्यपालसमक्ष विश्वविद्यालयका विभिन्न शैक्षिक, प्रशासनिक तथा विकासात्मक गतिविधिहरूबारे विस्तृत जानकारी गराउनुभयो। छलफलको मुख्य केन्द्रविन्दु दक्षिण सिक्किमको याङ्गाङमा निर्माणाधीन विश्वविद्यालयको स्थायी परिसर रहेको थियो। उपकुलपतिले उक्त परियोजनाको वर्तमान प्रगति, निर्माण कार्यको अवस्था, सम्पन्न हुने सम्भावित समयसीमा र यस क्रममा देखा परेका चुनौतीहरूबारे राज्यपाललाई अवगत गराउनुभयो।
माननीय राज्यपाल गौतमले स्थायी परिसरको महत्त्वमाथि विशेष जोड दिँदै विश्वविद्यालयको आफ्नै स्थायी परिसर बनेपछि विद्यार्थी र प्राध्यापकहरूले आधुनिक सुविधा तथा उत्कृष्ट शैक्षिक वातावरण पाउने बताउनुभयो। यसबाट उच्च शिक्षाको गुणस्तर र अनुसन्धान कार्यले समेत नयाँ दिशा प्राप्त गर्ने उहाँको भनाइ थियो।
सो अवसरमा माननीय राज्यपालले याङ्गाङ परिसरको निर्माण कार्यलाई समयबद्ध रूपमा सम्पन्न गर्न हरसम्भव सहयोग गर्ने आश्वासन समेत दिनुभएको छ।





