पाकिस्तानद्वारा खेल भावनाको असाधारण उदाहरण, च्याम्पियन भारतीय टोलीलाई गार्ड अफ अनर

IMG-20261118-WA0041

ढाका: भारत र पाकिस्तानबीच राजनैतिक तनाउको असर गत केही सालदेखि क्रिकेटको मैदानमा देख्न पाइएको छ। दुवै देशका खेलाड़ीहरू म्याच अघि अनि पछि एकार्कासँग हात मिलाउन मानेका छैनन्। यसबीच फूटबल मैदानमा चाहिँ मंगलवार राति एउटा अलग तस्वीर देख्न पाइयो। बंग्लादेशको राजधानी ढाकामा साफ च्याम्पियनशीप २०२६-को फाइनलमा भारतविरुद्ध पराजित भएपछि पाकिस्तानी खेलाड़ीहरूले खेल भावनाको असाधारण उदाहरण पेश गरे। उनीहरूले च्याम्पियन बन्ने भारतीय टोलीलाई गार्ड अफ अनर दिए। त्यस क्षणको भीडियो सोशल मीडियामा चर्चाको विषय बनेको छ। ढाकाको नेशनल स्टेडियममा खेलिएको फाइनलमा भारतले पाकिस्तानलाई २-१-ले पराजित गरी रेकर्ड दशौंपल्ट साफ च्याम्पियनशीपको खिताब जित्यो। म्याच समाप्त भएपछि पाकिस्तानका खेलाड़ी र प्रशिक्षकहरू लाइनमा उभिएर भारतीय टोलीलाई गार्ड अफ अनर-को साथमा जीतको निम्ति बधाई पनि दिए। यसबाहेक पुरस्कार वितरण समारोहमा पनि दुवै देशका खेलाड़ीहरूले एकार्कासँग हात मिलाए अनि हाई-फाइभ गरे। पाकिस्तानको यस्तो व्यवहार खेल भावनाको सुन्दर उदाहरण बन्यो। उल्लेखनीय छ, २०२५-मा पहलगाम आतंकी हमलामा धेरै निर्दोष मानिसहरूले ज्यान गुमाएपछि अनि त्यसपछि अपरेशन सिन्दुरले गर्दा दुई देशबीच तनाउ बढ़ेको छ। यसबीच साफ च्याम्पियनशीपमा चाहिँ दुवै टोलीलाई अलग मिजासमा देखियो। पाँच नोभेम्बरमा ग्रुप म्याच अघि भारतीय प्रशिक्षक नौशाद मूसा र डिफेण्डर नाथन रोड्रिग्सले पनि हात मिलाउने परम्परालाई निर्वाह गर्ने कुरा गरेका थिए। ग्रुप चरणको म्याच अघि भारतीय कप्तान विजोय वर्गीसले पाकिस्तानी कप्तान यूसुफ इजाज बटसँग हात मिलाएका थिए। त्यस म्याचमा पनि भारत ३-२-ले विजयी भएको थियो। मंगलवार राति भारतले एक समय पछाड़िए पनि असाधारण पुनरागमन गर्दै रेकर्ड दशौंपल्ट साफ फूटबल च्याम्पियनशीपको खिताब जित्यो। रोमाञ्चक फाइनल म्याचमा भारतले चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई २-१ ले पराजित गगऱ्यो। म्याचको मध्यान्तरसम्म पाकिस्तान अघि रहेको थियो। आलमगीर गाजीले मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको पहिलो मिनटमा पाकिस्तानलाई बढ़त दिलाए। दोस्रो हाफको खेलमा चाहिँ पाकिस्तानलाई शुरुमै धक्का लाग्यो। घातक फाउल गर्दा जुनैद शाहले ५९औं मिनटमा रातो कार्ड देखेर मैदान छोड़नु पर्दा पाकिस्तान १० जना खेलाड़ीमा सीमित भयो। त्यसपछि सुहैल अहमद भटले ६१औं मिनटमा गोल गरी भारतलाई बराबरीमा पुऱ्याए। अन्तमा सन्दीप माण्डीले ८८औं मिनटमा गोल गरेर भारतलाई यादगार जीत दिलाए।

About Author

Advertisement