खरसाङ: नगरपालिका चुनावमा स्थानीय जनता, युवा र अवकाशप्राप्त अधिकारीहरूलाई अघि आउन आह्वानसहित परिवर्तन, सुशासन र जनसेवाको नारासहित चुनावी मैदानमा उत्रिने ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्ड्सले शुक्रबार खरसाङमा बताएका छन्। उनले नयाँ खरसाङ निर्माण गर्न अब मुख बन्द गरेर काम शुरू गर्ने समय आएको छ भनी बताएका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रन्टका संस्थापक अध्यक्ष अजय एडवाडर्सले आगामी खरसाङ नगरपालिका चुनावलाई केन्द्रमा राख्दै स्थानीय जनता, युवापुस्ता तथा अवकाशप्राप्त अधिकारीहरूलाई आफ्नो क्षेत्रको विकास र परिवर्तनका लागि आफैँ अघि आउन आह्वान गरेका छन्।खरसाङका विद्यार्थीहरूले आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा विशेष अतिथिका रूपमा निमन्त्रणा पाएपछि अजय एडवाडर्स कार्यक्रममा सहभागी हुन खरसाङ आईपुगेका थिए। विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम सम्पन्न भएपछि उनले इण्डियन गोर्खा जनशक्ति फ्रन्टको खरसाङ महकुमा समिति कार्यालयमा पुगेर पार्टीका स्थानीय नेतृत्वहरूसँग बैठक गरेका थिए। उक्त बैठकमा आगामी दिनमा हुने सम्भावित खरसाङ नगरपालिका चुनाव, पार्टीको तयारी तथा नगरपालिकालाई कसरी जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भएको थियो। बैठकमा खरसाङ महकुमा समिति अध्यक्ष दया देवान, युवा एकाइ अध्यक्ष दीपराज लगायत अन्य पार्टी नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै अजय एडवाडर्सले खरसाङ नगरपालिका चुनाव छिट्टै हुने सम्भावना रहेको उल्लेख गर्दै एउटा राजनीतिक पार्टीका रूपमा यस विषयमा चासो राख्नु स्वाभाविक रहेको बताए। उनले आगामी नगरपालिका चुनावमा नगरपालिकाको सञ्चालन स्थानीय खरसाङवासीहरूको हातमा सुम्पिनु पर्ने आफ्नो धारणा स्पष्ट पारे। विगत लगभग ४० वर्षदेखि विभिन्न राजनीतिक दलहरूले नगरपालिकाको सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले राजनीतिक दलहरूको नेतृत्वमा नगरपालिकाको अवस्था कस्तो बनेको छ भन्ने कुरा जनताका अगाडि स्पष्ट रहेको बताएका छन्।एडवाडर्सले विगतको दार्जिलिङ नगरपालिकाको उदाहरण दिँदै पहिले डाक्टर, इन्जिनियर, शिक्षकजस्ता बौद्धिक तथा अनुभवी व्यक्तिहरूले नगरपालिका सञ्चालन गर्ने गरेको स्मरण गरे। त्यसबेला नगरपालिकाको छुट्टै गरिमा र पहिचान रहेको उनको भनाइ थियो। तर अहिले राजनीतिक हस्तक्षेप र कमिसनखोरीका कारण नगरपालिकाको गरिमा कमजोर बनेको आरोप उनले लगाए। उनका अनुसार नगरपालिका भनेको राजनीतिक स्वार्थ पूरा गर्ने स्थान नभई आम नागरिकको सेवा गर्ने संस्था हो। त्यसैले आगामी खरसाङ नगरपालिका चुनावमा स्थानीय जनताको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उनले बताए।यसै क्रममा उनले खरसाङका इच्छुक स्थानीय युवा-युवती, सामाजिक क्षेत्रमा योगदान दिन चाहने व्यक्ति तथा अवकाशप्राप्त अधिकारीहरूलाई राजनीतिमा सक्रिय सहभागिता जनाउन आग्रह गरे। इच्छुक व्यक्तिहरूले इण्डियन गोर्खा जनशक्ति फ्रन्टका खरसाङ महकुमा समिति अध्यक्ष दया देवान, युवा एकाइ अध्यक्ष दीपराजलगायत स्थानीय नेतृत्वहरूसँग सम्पर्क गर्न सक्ने उनले बताए। सामाजिक सञ्जालमा बसेर आफ्नो क्षेत्रको अवस्था र व्यवस्थाप्रति विरोध मात्र गरेर परिवर्तन सम्भव नहुने बताउँदै एडवाडर्सले अब स्थानीय मानिसहरू आफैँ अघि सरेर जिम्मेवारी लिनुपर्नेमा जोड दिए।उनले आगामी नगरपालिका चुनावलाई ध्यानमा राख्दै इण्डियन गोर्खा जनशक्ति फ्रन्टले ‘परिवर्तन, सुशासन र जनसेवा’को नारासहित चुनावी गतिविधि अघि बढाउने पनि बताए। खरसाङका युवा पुस्ता तथा अवकाशप्राप्त अनुभवी व्यक्तिहरूलाई सामाजिक सञ्जालमा आलोचना मात्र नगरी आफ्नो क्षेत्रको विकासका लागि व्यवहारमै काम गर्न उनले आह्वान गरे।आफ्नो भनाइका क्रममा एडवाडर्सले दार्जिलिङमा रहेको ‘मुख बन्द काम शुरू’ नामक सामाजिक संस्थाको उदाहरणसमेत प्रस्तुत गरे। उक्त संस्थाको नाम उल्लेख गर्दै उनले अब खरसाङवासीले पनि नयाँ खरसाङ निर्माणका लागि त्यही भावनाका साथ काम गर्ने समय आएको बताए।उनले विगत ४० वर्षको राजनीतिक अभ्यासले दार्जिलिङ पहाडको अपेक्षित विकास गर्न नसकेको आरोप लगाउँदै पहाड विकासका दृष्टिले पछि पर्दै गएको धारणा व्यक्त गरे। सामान्य वर्षा हुँदा समेत सडकहरू पानीको निकास नभएर नालाजस्तै बन्ने अवस्थाले पहाडको पूर्वाधार विकासमा देखिएका समस्याहरू उजागर गर्ने उनको भनाइ थियो।दार्जिलिङ पहाडमा वास्तविक परिवर्तन ल्याउन अब सबैले आ-आफ्नो जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने बताउँदै एडवाडर्सले खरसाङको भविष्य निर्माणका लागि स्थानीय जनता, युवा पुस्ता र अनुभवी व्यक्तिहरू एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।





