खरसाङ: युनेस्को विश्व सम्पदा सूचीमा समावेश गौरवशाली दार्जिलिङ हिमालयन रेलवेद्वारा सामुदायिक कल्याण र सांस्कृतिक उत्सवसहित खरसाङ रेलवे स्टेशनमा ‘स्टेशन महोत्सव’ आयोजना गरिने भएको छ। दार्जिलिङ हिमालयन रेलवेको पक्षबाट दिइएको जानकारी अनुसार यो एक जीवन्त, बहु-दिवसीय उत्सव हो, जसले सामुदायिक कल्याण, राष्ट्रिय एकता र समृद्ध सांस्कृतिक सम्पदालाई एकसाथ समेट्छ। यो महोत्सव ‘लौह पुरुष’ सरदार वल्लभभाइ पटेलको १५०औँ जन्मजयन्ती तथा ‘राष्ट्रिय एकता दिवस’ को पूर्वसन्ध्यामा राष्ट्रिय एकतासँग सम्बन्धित कार्यक्रमहरूबाट शुरु हुनेछ। त्यसपछि एक भव्य सांस्कृतिक उत्सव मनाइनेछ। महोत्सव अन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा स्वैच्छिक रक्तदान शिविर भोलि खरसाङ रेलवे स्टेशन परिसरमा आयोजन हुनेछ|
यसका साथै सांस्कृतिक उत्सव तथा पुरस्कार वितरण समारोह आगामी ६ नोभेम्बरको दिन हुनेछ जस अन्तर्गत क्षेत्रको समृद्ध सम्पदा, लोक प्रस्तुतिहरू र कलात्मक प्रतिभाहरू प्रदर्शन गरिनेछन्। यसको साथै उत्कृष्ट योगदान, सामुदायिक सेवा र रेलवे क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरूलाई सम्मान तथा पुरस्कृत गरिनेछ।





