​पाक्याङ जिल्लामा पीएम-किसान महोत्सव सम्पन्न

FB_IMG_1793366772235

२४औँ किस्ता जारी

​पाक्याङ: सिक्किम सरकारको कृषि विभाग र आत्मा (एटीएमए) पाक्याङको संयुक्त आयोजनामा ‘प्रधानमन्त्री किसान सम्मान निधि’ (पीएम-किसान) योजना अन्तर्गत २४औँ किस्ता हस्तान्तरणको अवसरमा ‘पीएम-किसान महोत्सव’ आयोजना गरिएको छ।
​जिल्ला मुख्यालयका साथै पाक्याङ जिल्लाका सबै छवटै ब्लकहरूमा एकैसाथ आयोजना गरिएको उक्त कार्यक्रममा करिब दुई हजार कृषकहरूको सहभागिता रहेको थियो। सम्बन्धित क्षेत्रका काउन्सिलर, जिल्ला पञ्चायत सदस्य तथा पञ्चायत प्रतिनिधिहरूले कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिरोधार्य गर्नुभएको थियो।
​कार्यक्रमका क्रममा भारतका प्रधानमन्त्रीद्वारा जारी गरिएको पीएम-किसान योजनाको २४ औँ किस्ताको राष्ट्रिय स्तरको प्रत्यक्ष प्रसारण कृषकहरूलाई देखाइएको थियो। यस प्रत्यक्ष प्रसारणमार्फत सहभागीहरूले योग्य लाभार्थीहरूलाई प्राप्त हुने वित्तीय सहायता रकम हस्तान्तरणको दृश्य प्रत्यक्ष अवलोकन गरेका थिए।
​पीएम-किसान योजना अन्तर्गत प्रत्यक्ष वित्तीय सहायतामार्फत कृषकहरूको कल्याणप्रति केन्द्र सरकारको निरन्तर प्रतिबद्धतालाई यस अवसरले उजागर गरेको छ। २४औँ किस्ताको वितरणले कृषकहरूको जीविकोपार्जनलाई सुदृढ बनाउन र कृषि कार्यमा मद्दत पुर्‍याउन समयमै प्राप्त हुने आय सहयोगको महत्त्वलाई पुनः पुष्टि गरेको छ।
​कृषक आउटरीच(पहुंच)लाई सुदृढ बनाउन र तल्लो तहसम्म प्रमुख कृषि योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न कृषि विभाग र आत्मा पाक्याङको समन्वयात्मक प्रयास स्वरूप यो महोत्सव आयोजना गरिएको हो। यस पहलबाट पाक्याङ जिल्लाले कृषकको कल्याण, संस्थागत समन्वय र सरकारी योजनाको लाभ लक्षित कृषक समुदायसम्म पुर्‍याउन आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

About Author

Advertisement