दशैं-तिहारमा भित्रिन्छ वार्षिक रेमिट्यान्सको एक चौथाइ, परिवारप्रतिको जिम्मेवारी र अर्थतन्त्रमा टेवा

de780deb-2e89-4fc2-9506-d3d9c6381ffb

काठमाडौं: नेपाल भित्रिने वार्षिक रेमिट्यान्सको झण्डै एक चौथाइ रकम दशैं र तिहारको आसपासमा भित्रिने गरेको छ। विदेशमा रहेका नेपाली श्रमिकले चाडपर्व मनाउन परिवारप्रतिको जिम्मेवारी बोध गर्दै बढी रकम पठाउने भएकाले यस्तो हुने गरेको अधिकारीहरू बताउँछन्।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार पछिल्ला ३/४ वर्षको तथ्यांकलाई हेर्दा दशैं-तिहार लक्षित रेमिट्यान्स वर्षभरिको कुल रेमिट्यान्सको एक चौथाइ हाराहारी देखिएको छ। मुख्य गरी भदौ, असोज र कार्तिक महिनामा यो प्रवाह उच्च हुने गरेको छ।
“हजारौं घर परिवारमा आम्दानी गर्ने प्रमुख व्यक्ति बाहिर भएकाले चाडपर्वको समयमा खर्च पठाउने चलन छ। त्यसलाई हामी स्वाभाविक वृद्धि मान्छौं,” प्रवक्ता पौडेलले बीबीसीसँग भने।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै विप्रेषण प्रवाह २१.२ प्रतिशतले वृद्धि भएर २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। पछिल्ला वर्षहरूमा नेपालले मासिक औसत १.२ देखि १.६ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याउँदै आएको छ।
अघिल्लो वर्ष नेपालमा २३ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन देशको कुल गार्हस्थ्य उत्पादन (GDP) को ३५.८ प्रतिशत हो। सरकारको तथ्यांक अनुसार ३० लाखभन्दा बढी नेपाली आप्रवासी कामदारका रूपमा विदेशमा छन् भने सन् २००८/०९ देखि २०२३/२४ सम्ममा ५७ लाख नयाँ श्रम स्वीकृति जारी भएको छ। यसले रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्ड बनेको पुष्टि गर्छ।
चाडपर्वमा चलायमान बजार र रेमिट्यान्सको भूमिका
जानकारहरूका अनुसार दशैं-तिहारमा बजारमा चहलपहल बढ्नुमा रेमिट्यान्सको मुख्य भूमिका हुन्छ। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, “नेपालमा कर्मचारीलाई बोनस दिएजस्तै विदेशमा काम गर्ने नेपालीले चाडमा घरपरिवारप्रति जिम्मेवारी देखाउँदै बढी पैसा पठाउने गर्छन्।”
उनका अनुसार नयाँ लुगा, गाडी, मोटरसाइकल, घरजस्ता शुभ कार्य दशैंमा गर्ने परम्पराले आर्थिक गतिविधि, यातायात सेवा, कृषि उपजको बिक्री र व्यापार व्यवसाय उल्लेख्य बढ्ने गरेको छ।
अर्थतन्त्रमा दोहोरो प्रभाव
राष्ट्र बैंकका प्रवक्ता पौडेल दशैंमा रेमिट्यान्सले घर-गृहस्थी र उपभोगलाई सघाउने, सवारी र मानिसको आवतजावत बढाउने र समग्र आर्थिक क्रियाकलापमा टेवा पुर्‍याउने बताउँछन्। यसले विदेशी मुद्रा सञ्चिति र बैंकहरूको निक्षेप बढाउन पनि मद्दत गरेको छ।
तर विज्ञहरूले भने रेमिट्यान्सको दीर्घकालीन उपयोगमाथि प्रश्न उठाएका छन्। पूर्व कार्यकारी निर्देशक थापाकै शब्दमा, “गरिबी न्यूनीकरणमा रेमिट्यान्सको महत्त्वपूर्ण भूमिका छ, तर पुँजी निर्माण, प्रविधि विकास र औद्योगिकीकरणमा यसको भूमिका त्यति देखिएको छैन। घरपरिवारको आवश्यकता पूर्तिमै बढी प्रयोग हुँदै आएको छ।”
यस वर्ष भोटेकोशी र त्रिशूलीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकाले त्यसको असर चाडपर्वको खर्चमा पनि पर्न सक्ने अधिकारीहरूको आकलन छ। साथै नेपाली मुद्राको अवमूल्यन र अमेरिकी डलरको मूल्यवृद्धिले पनि रेमिट्यान्स प्रवाहलाई प्रत्यक्ष असर पारिरहेको छ।

About Author

Advertisement