विश्व मानसिक स्वास्थ्य दिवस: पाकिममा मानसिक स्वास्थ्य र दुर्व्यसनविरुद्ध बृहत् सचेतना कार्यक्रम

b056beb0-9e39-409c-9ab0-8f50f6745de4

​पाकिम: विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सिक्किमको पाकिमस्थित सामुदायिक भवनमा मानसिक स्वास्थ्य तथा दुर्व्यसनसम्बन्धी बृहत् सचेतना कार्यक्रम आयोजना गरिएको छ। ‘सारथी’ गैरसरकारी संस्था र सिक्किम राज्य एड्स नियन्त्रण सोसाइटीको संयुक्त आयोजनामा शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो।
​दुर्व्यसनमुक्त र मानसिक रूपमा स्वस्थ सिक्किम निर्माण गर्ने मुख्यमन्त्रीको परिकल्पनाअनुसार आयोजित कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार तथा सारथी संस्थाका प्रमुख स्रोत व्यक्ति रोहित राज गुरुङ (महाराज) मुख्य अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै गुरुङले आन्तरिक शान्ति, सकारात्मक दृष्टिकोण र तनाव व्यवस्थापनको महत्त्वबारे चर्चा गरे। त्यस्तै, सारथी संस्थाका परियोजना निर्देशक विशाल शर्माले पुनर्स्थापना, परामर्श र ‘सारथी क्लब’ मार्फत समुदायमा आधारित कार्यशैलीबारे जानकारी दिए।


​कार्यक्रममा मुख्य चिकित्सा अधिकृत डा. मदनमणि ढकालले मानसिक स्वास्थ्य समस्यालाई बिना कुनै सामाजिक लाञ्छना पहिचान गरी समयमै उपचार र सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए। उनले राष्ट्रिय टेलिफोन परामर्श सेवा ‘टेली-मानस’ र ‘सिक्किम आत्महत्या रोकथाम कार्य नेटवर्क’को उपयोगिताबारे पनि प्रकाश पारे।
​समारोहमा ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान, एचआईभी/एड्स (रोकथाम तथा नियन्त्रण) ऐन २०१७, र महिला तथा बालबालिका सशक्तिकरणका विषयमा समेत जानकारी दिइएको थियो। सो अवसरमा नेपालमा विपद्का बेला स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, स्थानीय खेलकुद क्लब तथा समाजसेवीहरूलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।

About Author

Advertisement