गान्तोक: सिक्किम सरकारको विद्यार्थी कल्याण बोर्ड (एसडब्ल्यूबी) ले दोस्रो राज्यस्तरीय विद्यार्थी विधानसभा सत्रमा सहभागी हुन गान्तोक पुगेका कलेज प्रतिनिधिहरूलाई स्वागत गरेको छ। सिक्किमका विभिन्न कलेजबाट छनोट भएका विद्यार्थीहरूलाई शनिबार आयोजित एक विशेष अन्तरक्रियात्मक कार्यक्रममाझ स्वागत गरिएको हो।
स्वागत कार्यक्रममा विद्यार्थी कल्याण बोर्डका पदाधिकारी, आईटीएस सदस्य डा. नीरज अधिकारी, मुख्यमन्त्रीका विशेष कर्तव्य अधिकारी (ओएसडी) रिवाज छेत्री, संस्कृति विभागकी अध्यक्ष भीमकुमारी शर्मा तथा एसकेएम विद्यार्थी शाखाका कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई विधानसभा सत्रको उद्देश्य, कार्यविधि तथा भावी योजनाबारे जानकारी गराइएको थियो।

‘सिक्किम@२०४७ युवाको आवाज’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त विद्यार्थी विधानसभा सत्रले युवाहरूमा नेतृत्व क्षमता, लोकतान्त्रिक सहभागिता र आलोचनात्मक सोचको विकास गर्ने लक्ष्य राखेको छ। विद्यार्थीहरूलाई राज्यका समसामयिक मुद्दाहरूमा छलफल गरी विकसित सिक्किमको परिकल्पनामा योगदान पुर्याउन यो मञ्चले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।





