वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ३ नोम्बरमा हुने मध्यावधि निर्वाचनअघि अमेरिकाले इरानमाथि पुन: आक्रमण नगर्ने घोषणा गरेका छन्। ६ महिनादेखि जारी युद्ध अन्त्यका लागि दुवै देशबीच सार्थक वार्ता भइरहेको दाबी गर्दै उनले ट्रुथ सोसियलमा यस्तो पोस्ट गरेका हुन्।
फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुका साथै ट्रम्पको जनप्रियतामा उल्लेख्य गिरावट आएको छ। हालै गरिएको एक सर्वेक्षणअनुसार ६० प्रतिशत अमेरिकी नागरिक इरानप्रति ट्रम्पले अपनाएको नीतिको विपक्षमा छन्। युद्धका कारण जीवनयापनको लागत बढेकाले चुनावअघि आम मतदातालाई आकर्षित गर्न ट्रम्पले सैन्य कारबाही रोक्ने सङ्केत गरेको विश्लेषण गरिएको छ। युद्ध अन्त्य र होर्मुज जलडमरूमध्य पुन: खोल्ने विषयमा दुवै पक्षबीच प्रस्ताव आदानप्रदान भइरहेको छ।





