प्रधानमन्त्री मोदीको २५ वर्षे जनसेवा: सिक्किमका मुख्यमन्त्रीद्वारा बधाई तथा शुभकामना व्यक्त

FB_IMG_1791376711539

​गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवा र नेतृत्वमा २५ वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले सिक्किमका जनता तथा राज्य सरकारका तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
​सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मुख्यमन्त्री घोलेले ७ अक्टोबर २००१ मा गुजरातको मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गरेदेखि भारतको प्रधानमन्त्रीसम्मको मोदीको २५ वर्षे यात्रा नि:स्वार्थ सेवा, सुशासन र राष्ट्र निर्माणप्रतिको अद्भूत प्रतिबद्धताको प्रतीक भएको बताएका छन्।
​’सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ को भावनालाई सुदृढ गर्दै प्रधानमन्त्री मोदीले लिएको ‘विकसित भारत’ तथा ‘एक भारत श्रेष्ठ भारत’ को दूरदर्शी सोचले सिङ्गो देशलाई निरन्तर प्रेरित गरिरहेको मुख्यमन्त्रीको भनाइ छ।
​उत्तर-पूर्वी क्षेत्रको विकास, यहाँको विविधता, सम्पदा र सम्भावनाप्रति प्रधानमन्त्रीले देखाउनुभएको विशेष चासोले यस क्षेत्रको पूर्वाधार, समग्र समृद्धि र राष्ट्रिय विकासको मूल प्रवाहमा जोडिन ठूलो मद्दत पुगेको उनले उल्लेख गरेका छन्।
​सिक्किम राज्य र यहाँका जनताप्रति प्रधानमन्त्रीले निरन्तर दर्शाउँदै आएको स्नेह, मार्गदर्शन र सहयोगका लागि सिक्किम सरकार र आम जनताको तर्फबाट कृतज्ञता व्यक्त गर्दै मुख्यमन्त्री घोलेले प्रधानमन्त्री मोदीको सुस्वास्थ्य, दीर्घायु र सफल नेतृत्वको कामना गरेका छन्।

About Author

Advertisement