सिलगढी: आसन्न दुर्गा पूजा २०२६ लाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यका साथ सिलीगुडी पुलिस कमिश्नरेटले आफ्नो सक्रियता बढाएको छ। यसै क्रममा सिलगढीका पुलिस आयुक्त श्री सैयद वाकार रजा (आईपीएस) ले उच्चपदस्थ पुलिस अधिकारीहरू तथा सम्बन्धित विभिन्न विभागका प्रतिनिधिहरूसहित क्षेत्रका प्रमुख दुर्गा पूजा मण्डलहरूको स्थलगत निरीक्षण गर्नुभएको छ।
निरीक्षण टोलीमा पश्चिम बंगाल राज्य विद्युत वितरण कम्पनी लिमिटेड (डब्ल्यूबीएसईडीसीएल), दमकल विभाग तथा प्रदूषण नियन्त्रण बोर्डका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अनुगमनका क्रममा पूजा मण्डलहरूमा विद्युत व्यवस्थापन, अग्नि सुरक्षाका उपाय, वातावरणीय मापदण्ड र समग्र सुरक्षा प्रबन्धको सूक्ष्म समीक्षा गरिएको छ।

यसका साथै, पूजापछि मूर्ति विसर्जन प्रक्रियालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन टोलीले लालमोहन मौलिक निरञ्जन घाटको समेत निरीक्षण गरी त्यहाँको वस्तुस्थिति र तयारीको जायजा लिएको छ।
सबै श्रद्धालु तथा नगरवासीका लागि सुरक्षित र शान्तिपूर्ण वातावरणमा दुर्गा पूजा सम्पन्न गराउन सिलीगुडी प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा पुलिस प्रशासनले जनाएको छ।





