गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवा र नेतृत्वमा २५ वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले सिक्किमका जनता तथा राज्य सरकारका तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मुख्यमन्त्री घोलेले ७ अक्टोबर २००१ मा गुजरातको मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गरेदेखि भारतको प्रधानमन्त्रीसम्मको मोदीको २५ वर्षे यात्रा नि:स्वार्थ सेवा, सुशासन र राष्ट्र निर्माणप्रतिको अद्भूत प्रतिबद्धताको प्रतीक भएको बताएका छन्।
’सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ को भावनालाई सुदृढ गर्दै प्रधानमन्त्री मोदीले लिएको ‘विकसित भारत’ तथा ‘एक भारत श्रेष्ठ भारत’ को दूरदर्शी सोचले सिङ्गो देशलाई निरन्तर प्रेरित गरिरहेको मुख्यमन्त्रीको भनाइ छ।
उत्तर-पूर्वी क्षेत्रको विकास, यहाँको विविधता, सम्पदा र सम्भावनाप्रति प्रधानमन्त्रीले देखाउनुभएको विशेष चासोले यस क्षेत्रको पूर्वाधार, समग्र समृद्धि र राष्ट्रिय विकासको मूल प्रवाहमा जोडिन ठूलो मद्दत पुगेको उनले उल्लेख गरेका छन्।
सिक्किम राज्य र यहाँका जनताप्रति प्रधानमन्त्रीले निरन्तर दर्शाउँदै आएको स्नेह, मार्गदर्शन र सहयोगका लागि सिक्किम सरकार र आम जनताको तर्फबाट कृतज्ञता व्यक्त गर्दै मुख्यमन्त्री घोलेले प्रधानमन्त्री मोदीको सुस्वास्थ्य, दीर्घायु र सफल नेतृत्वको कामना गरेका छन्।





