खरसाङ: ‘मायाको साथ सेवाको हात” भन्दै खरसाङको राजबारी रानीकूप नयाँ बजार नारी प्रगति संस्थाका कर्मठ ३४ जना सदस्याहरुद्वारा तीनधारेको शान्त भवनका २८ जना असहाय सहारा र संरक्षणको आवश्यकता भएका नारीहरूसँग समाजसेवा, मानवता र सहानुभूतिको भावनालाई आत्मासत गर्दै आत्मीय भेटघाट गर्दै उनीहरूलाई आवश्यकता परेका दैनिक उपयोगी सामग्रीहरू साथै ऊनीको ओढ़ना, चप्पल, खाद्यन्न पदार्थ लगायत मिक्सि ग्राइन्डर सहयोगार्थ प्रदान गरेका छन्। यस कार्यक्रमको मुख्य उद्देश्य केवल सामाग्री प्रदान गर्न मात्र नरहेर ती वृद्ध महिलाहरूलाई आफू समाजबाट अलग वा उपेक्षित नभएको अनुभूति गराउनु, उनीहरूसँग केही समय आत्मीयता पूर्वक बिताउनु र उनीहरूको जीवनमा खुसी तथा अपन्वतको अनुभूति दिलाउनु रहेको बताइएको छ। यसका साथै नयाँ पुस्ता र समाजका अन्य सदस्यहरूमा ज्येष्ठ नागरिकप्रति सम्मान, करुणा जिम्मेवारी र सेवाभाव जागृत गराउनु पनि रहेको छ। संस्थाकी एक सदस्य परिनिता ठटालको जन्मदिन परेको हुँदा संस्थाकी अध्यक्षा पासाङ लमु भोटिया,उपस्थित कर्मठ सदस्यावृन्द अनि आश्रमका महिलाहरूमाझ रहेर जन्मोत्सव मनाएको क्षणले कार्यक्रममा थप आत्मीयता र खुसी ल्याइएको छ। आगामी दिनमा पनि आवश्यकता र सम्भावना अनुसार सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता सचिव प्रनिता मुखिया घिसिङद्वारा व्यक्त गरिएको छ।





