गान्ताेक: आउँदो २८ देखि ३० अक्टोबरसम्म ग्याङटोकमा आयोजना हुन गइरहेको ‘सिक्किम कला तथा साहित्य महोत्सव २०२६’ को तयारी र ३ दिने कार्यक्रमबारे छलफल गर्न आज पहिलो प्रारम्भिक बैठक सम्पन्न भएको छ।
यो महोत्सव सिक्किम सरकारको शिक्षा विभागअन्तर्गतको विद्यार्थी कल्याण बोर्ड र ‘टिमवर्क आर्ट्स’ को संयुक्त आयोजनामा हुन लागेको हो। टिमवर्क आर्ट्स चर्चित ‘जयपुर साहित्य महोत्सव’ लगायतका प्रमुख साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालनका लागि प्रसिद्ध छ।
बैठकमा मुख्य अतिथिका रूपमा ग्याङटोकका विधायक एवं सहरी विकास तथा खाद्य एवम् नागरिक आपूर्ति विभागका सल्लाहकार श्री देले नामग्याल बारफुङ्पा र सोरेङ-चकुङका विधायक श्री आदित्य गोलेको उपस्थिति रहेको थियो।
बैठकमा ग्याङटोक नगर निगमकी मेयर श्रीमती छिरिङ पाल्देन भुटिया, सिक्किम विद्यार्थी कल्याण बोर्डका अध्यक्ष श्री सोनाम चोपेल शेर्पा, सूचना तथा जनसम्पर्क विभागका अध्यक्ष श्री असित राई, संस्कृति विभागकी अध्यक्ष श्रीमती भीम कुमारी शर्मा, मुख्यमन्त्रीका प्रेस सचिव श्री युगन तामाङ, मुख्यमन्त्रीका ओएसडी (सीप विकास तथा उद्यमी) श्री रिवाज क्षेत्रीका साथै विभिन्न विभागका सचिव, वरिष्ठ अधिकारीहरू, टिमवर्क आर्ट्सको टोली र अन्य सरोकारवालाहरूको उपस्थिति थियो।
बैठकलाई सम्बोधन गर्दै मुख्य अतिथि श्री देले नामग्याल बारफुङ्पाले अध्ययन संस्कृति र पठन अभ्यासलाई पुनः जीवित गराउनुपर्नेमा जोड दिनुभयो। डिजिटल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई ध्यानमा राख्दै युवाहरूलाई पुस्तक र अध्ययनतर्फ आकर्षित गर्ने मञ्चहरू निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले समाचारपत्र पढ्ने संस्कृतिको विकास र शैक्षिक जिज्ञासालाई प्रवर्धन गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
विधेयक श्री आदित्य गोलेले सन् २०१९-२० मा सानो स्तरबाट सुरु भएको यो महोत्सवको इतिहासबारे जानकारी गराउनुभयो। एमजी मार्ग, मनन केन्द्र हुँदै सन् २०२३ मा युकसोममा भव्य रूपमा आयोजना गरिएको उल्लेख गर्दै उहाँले अब यसलाई सिक्किम सरकारअन्तर्गत संस्थागत गरी हरेक वर्ष आयोजना गरिने बताउनुभयो। पहिलो पटक शिक्षा विभागअन्तर्गतको विद्यार्थी कल्याण बोर्डले सरकारी स्तरबाट यसलाई वार्षिक कार्यक्रमका रूपमा सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो। यस संस्करणमा विद्यार्थीहरूका लागि विशेष कार्यशाला, अन्तरक्रियात्मक सत्र र प्राथमिक तथा जुनियर तहका विद्यार्थीहरूका लागि सिर्जनात्मक गतिविधिहरू समावेश गरिने उहाँले बताउनुभयो।
टिमवर्क आर्ट्सका उपाध्यक्ष श्री सैयद शम्स जावैदले सन् २०२३ को युकसोम संस्करणको स्मरण गर्दै यस महोत्सवले सिक्किमको कला, साहित्य र संस्कृतिलाई विश्वव्यापी मञ्चहरू (जस्तै जयपुर साहित्य महोत्सव) सँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
३ दिने महोत्सवका मुख्य स्थलहरू रिज पार्क र ह्वाइट मेमोरियल हल रहनेछन् भने कार्यशालाका लागि छुट्टै स्थान तोकिएको छ। कार्यक्रममा प्रभाती सङ्गीत, सांस्कृतिक प्रस्तुति र बेलुकीको साङ्गीतिक कार्यक्रमहरू समावेश हुनेछन्।
संस्कृति विभागकी अध्यक्ष श्रीमती भीम कुमारी शर्माको धन्यवाद ज्ञापन र विद्यार्थी कल्याण बोर्डका अध्यक्ष श्री सोनाम चोपेल शेर्पाको स्वागत मन्तव्यसँगै बैठक सम्पन्न भएको थियो।





