पाकिम: विश्व मुटु दिवसका अवसरमा सिक्किमको पाकिम जिल्लास्थित रेनोक गणेश मन्दिर परिसरमा नि:शुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम आयोजना गरिएको छ। सिक्किम सरकारको आयुष विभागको निर्देशानुसार रेनोक सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) अन्तर्गतको आयुष क्लिनिक र गैर-सरुवा रोग (एनसीडी) टोलीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
‘डोन्ट मिस अ बीट’ भन्ने विश्वव्यापी नाराका साथ आयोजित कार्यक्रममा मुटुरोगको जोखिम, जीवनशैलीमा सुधार तथा रोकथामका उपायहरूबारे सर्वसाधारणलाई जानकारी गराइएको थियो।
शिविरमा ६० भन्दा बढी स्थानीय बासिन्दाले नि:शुल्क स्वास्थ्य सेवाको लाभ लिएका छन्। सो अवसरमा रगतमा चिनीको मात्रा (आरबीएस), हेमोग्लोबिन, रक्तचाप परीक्षणका साथै होमियोप्याथिक परामर्श र नि:शुल्क औषधि वितरण गरिएको थियो।
कार्यक्रममा आयुष क्लिनिकका एमओआईसी डा. ए. जे. खड्काले सन्तुलित आहार, नुन तथा प्रशोधित खानाको प्रयोगमा कमी, नियमित शारीरिक व्यायाम र योगमार्फत तनाव व्यवस्थापन गर्न सकिने विषयमा प्रकाश पारेका थिए। सहभागीहरूलाई जनचेतनामूलक पर्चा तथा शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो।
डा. आश्विन जे. को सुपरिवेक्षणमा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मी, आशा कार्यकर्ता तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। स्थानीय बासिन्दाले गाउँमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै आयुष विभाग र स्वास्थ्य टोलीप्रति आभार प्रकट गरेका छन्।





