उत्तर सिक्किमको सडक पूर्वाधार र बाढी-पहिरोको जोखिमप्रति क्यापद्वारा चिन्ता व्यक्त

FB_IMG_1790703791183

​गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमको मङ्गन जिल्ला कार्यकारिणी परिषद्को बैठक मङ्गलबार पार्टी अध्यक्ष गणेश के. राईको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने र मङ्गन जिल्लाका समसामयिक समस्याबारे छलफल गरिएको छ।
​बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राईले उत्तर सिक्किमलगायत क्षेत्रमा सडकको दयनीय अवस्थाका कारण सर्वसाधारण र विशेष गरी विद्यार्थीहरूले सास्ती भोग्नुपरेको बताए। साथै, उत्तर सिक्किमका पहिरो प्रभावित तथा प्राकृतिक जोखिमयुक्त क्षेत्रहरूमा सडक पूर्वाधार, विपद् व्यवस्थापन र स्थानीय समुदायको सुरक्षामा तत्काल ध्यान दिनुपर्नेमा उनले जोड दिए।
​पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूलाई जनतासँग निरन्तर सम्पर्कमा रही स्थानीय समस्याहरूलाई व्यवस्थित रूपमा सम्बन्धित निकायसमक्ष उठाउन अध्यक्ष राईले निर्देशन दिए।
​कार्यक्रममा मङ्गन जिल्ला ट्राइबल काउन्सिलका अध्यक्ष डीआर लिम्बूले टिस्टा बेसिन र टिस्टा-III परियोजनासँग सम्बन्धित विषयहरू उठाउँदै पार्टीका पाँच प्रमुख उद्देश्यबारे स्पष्ट पारेका थिए। त्यसैगरी, उपाध्यक्ष एवं मङ्गन जिल्ला अध्यक्ष जोर्बु छेङ लेप्चाले संगठनलाई तल्लो तहसम्म पुर्‍याउन नियमित मासिक बैठक सञ्चालन गर्ने र पूर्णकालीन कार्यकर्ता निर्माणमा जोड दिइने बताए।

About Author

Advertisement