नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) का नवनियुक्त प्रदेश इन्चार्ज तथा सह-इन्चार्जहरूको सांगठनिक बैठक मङ्गलबार नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन तथा राष्ट्रिय महामन्त्री (संगठन) बी. एल. सन्तोषको उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै नेतृत्वले प्रधानमन्त्री नरेन्द्र मोदीले अघि स सारेको सन् २०४७ सम्म ‘विकसित भारत’ निर्माण गर्ने सङ्कल्पलाई साकार पार्न सबै तहका कार्यकर्ता समर्पित हुनुपर्नेमा जोड दिएका छन्। यो लक्ष्य केवल सरकारको मात्र नभई प्रत्येक नागरिक र पार्टी कार्यकर्ताको साझा जिम्मेवारी भएको बताइएको छ। प्रदेश कमिटी, निष्ठावान कार्यकर्ता र आम नागरिकसँगको सहकार्यमा यस अवधारणालाई सार्थक बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
सरकारी नीति तथा योजनाहरू समाजको अन्तिम व्यक्तिसम्म पुगेपछि मात्र सर्वसाधारणको जीवनमा वास्तविक परिवर्तन आउने भन्दै प्रत्येक गाउँ, वडा र समुदायसम्म पार्टीको उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिइएको छ। जनताका समस्या सुन्ने, उनीहरूका चिन्ता बुझ्ने र निरन्तर जनसम्पर्कमा रहनु नै ‘सबका साथ, सबका विकास’ को वास्तविक प्रयोग भएको बैठकमा चर्चा गरिएको थियो।

कुनै पनि वर्ग वा क्षेत्रलाई पछाडि नछाडी सबैको विकास सुनिश्चित गर्ने र सांगठनिक संरचनालाई तल्लो तहसम्म अझ प्रभावकारी ढङ्गले विस्तार गर्ने निर्णय समेत बैठकले गरेको छ।





