त्रिपुरा: स्वास्थ्य सेवामा पहुँच विस्तारको दाबी, बाहिर रेफर हुने बिरामी ८० प्रतिशत घटे

IMG-20260924-WA0073

अगरतला: त्रिपुराका मुख्यमन्त्री डा. माणिक साहले नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने सरकारको प्रतिबद्धताअनुसार राज्यमा स्वास्थ्य पूर्वाधार विस्तारलाई तीव्रता दिइएको बताएका छन्।
मुख्यमन्त्री साहका अनुसार एडी नगरमा अर्बन पोलिक्लिनिकको शुभारम्भ गर्नुका साथै राधानगर, धलेश्वर, जगहरिमुडा, उजान अभयनगर र रामकृष्ण शिवालय आश्रममा निर्माण सम्पन्न भएका आयुष्मान आरोग्य मन्दिरका नयाँ भवनहरूको भर्चुअल माध्यमबाट उद्घाटन गरिएको छ।
उनले राज्यभर हालसम्म करिब १ हजार ११० वटा आयुष्मान आरोग्य मन्दिर सञ्चालनमा आएको उल्लेख गर्दै यसबाट प्राथमिक तहमा स्वास्थ्य सेवा थप सुदृढ र सहज बनेको दाबी गरेका छन्।
मुख्यमन्त्री साहले स्वास्थ्य क्षेत्रमा भएको सुधारको प्रभावस्वरूप उपचारका लागि राज्यबाहिर रेफर गरिने बिरामीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा घटेको पनि बताएका छन्। उनका अनुसार सन् २०२३ मा ५५५, २०२४ मा ४९५ र २०२५ मा ३६६ जना बिरामीलाई राज्यबाहिर रेफर गरिएको थियो। सन् २०२६ मा यो संख्या घटेर १६१ पुगेको उनको भनाइ छ।
उनका अनुसार केही वर्षको अवधिमा राज्यबाहिर रेफर हुने बिरामीको संख्यामा करिब ८० प्रतिशतले कमी आएको छ। प्राथमिक स्वास्थ्य केन्द्रदेखि आधुनिक स्वास्थ्य पूर्वाधारसम्मको विस्तारले स्थानीय स्तरमै उपचारको पहुँच बढाउन योगदान पुर्‍याएको मुख्यमन्त्री साहको भनाइ छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री साहले स्वास्थ्य सेवामा भइरहेको पूर्वाधार विकासलाई नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेका छन्।

About Author

Advertisement