असमको चलचित्र तथा सांस्कृतिक इतिहासमा सुरको योगदान स्मरणीय रहेको मुख्यमन्त्रीको भनाइ
गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले असमको चलचित्र तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ चलचित्रकर्मी तथा कलाकार दिलीप सुरलाई स्मरण गरेका छन्। उनले सुरलाई असमको चलचित्र इतिहासका एक निष्ठावान कलाकार तथा चलचित्रकर्मीका रूपमा उल्लेख गर्दै उनको योगदान नयाँ पुस्ताले जान्न र चर्चा गर्न आवश्यक रहेको बताएका छन्।
मुख्यमन्त्री सरमाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू हालै कार्बी आङ्लोङमा रहँदा दिलीप सुरका छोरा सञ्जय सुरसँग भेट भएको र सो क्रममा उनका पिता दिलीप सुरको सांस्कृतिक तथा चलचित्र क्षेत्रमा रहेको योगदानबारे जानकारी पाएको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीका अनुसार दिलीप सुरले निर्माता, निर्देशक तथा अभिनेताका रूपमा असमिया तथा उत्तर–पूर्वी भारतको चलचित्र र सांस्कृतिक क्षेत्रमा लामो समय योगदान दिएका थिए। चलचित्र निर्माणप्रतिको गहिरो रुचि र प्रतिबद्धताका कारण उनले आफ्नो कार्यकालमा विभिन्न चलचित्र, वृत्तचित्र, छोटा चलचित्र तथा रंगमञ्चीय प्रस्तुतिमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
दिलीप सुरको महत्वपूर्ण योगदानमध्ये ‘गजमुक्ता’ चलचित्रको निर्माण पनि एक रहेको मुख्यमन्त्री सरमाले उल्लेख गरेका छन्। अजित लाहिरीको निर्देशनमा बनेको उक्त चलचित्रमा टम अल्टर, बिजु फुकन, सौमित्र चट्टोपाध्याय, मुनमुन सेन र ज्ञानेश मुखर्जी लगायतका कलाकारले अभिनय गरेका थिए। चलचित्रको संगीत महान् गायक तथा संगीतकार डा. भूपेन हजारिकाले दिएका थिए।
सुरको योगदान चलचित्र निर्माणमा मात्र सीमित नरहेको शर्माको भनाइ छ। विशेषगरी कार्बी आङ्लोङमा चलचित्र गतिविधिको प्रारम्भिक विकासमा पनि उनको भूमिका उल्लेखनीय रहेको उनले बताएका छन्।
रंगमञ्चको क्षेत्रमा समेत दिलीप सुरको योगदान रहेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले परागधर चलिहा, प्रफुल्ल बरुवा र अब्दुल मजीदजस्ता चर्चित व्यक्तित्वको निर्देशनमा उनले नाटकमा अभिनय गरेको स्मरण गरेका छन्। सन् १९७१ मा शिवसागर नाट्य समाजको ‘अभियात्री’ नाटकमा उनको अभिनय रहेको र उक्त नाटकले नयाँ दिल्लीमा आयोजित अखिल भारतीय नाट्य प्रतियोगितामा उत्कृष्ट नाटकको सम्मान प्राप्त गरेको तथ्य पनि उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री सरमाले दिलीप सुरजस्ता सांस्कृतिक तथा चलचित्रकर्मीको मूल्याङ्कन गर्दा उनले कति चलचित्र बनाए वा कति भूमिकामा अभिनय गरे भन्ने मात्र महत्वपूर्ण नभएको बताएका छन्। उनीहरूले काम गरेको समय, त्यसबेलाको सीमित स्रोत–साधन तथा कठिन परिस्थितिबीच चलचित्र र संस्कृतिको सम्भावनालाई अगाडि बढाउन गरेको प्रयास अझ महत्वपूर्ण रहेको उनको भनाइ छ।
आज असमिया तथा उत्तर–पूर्वी भारतको चलचित्र क्षेत्र नयाँ प्रविधि, नयाँ विषयवस्तु र नयाँ दर्शकसँग अघि बढिरहेको उल्लेख गर्दै शर्माले यस यात्राको प्रारम्भिक चरणमा बाटो खोल्ने अग्रज स्रष्टाहरूलाई सम्झनु सांस्कृतिक जिम्मेवारी भएको बताएका छन्।
दिलीप सुरको योगदान समयक्रममा ओझेलमा पर्न सक्ने भए पनि चलचित्र तथा सांस्कृतिक क्षेत्रप्रतिको उनको प्रतिबद्धता असमको सांस्कृतिक इतिहासको महत्वपूर्ण अध्यायका रूपमा रहने मुख्यमन्त्री सरमाको धारणा छ। उनले यस्ता अग्रज व्यक्तित्वको योगदानबारे नयाँ पुस्ताले जानकारी लिनु र त्यसबारे थप अध्ययन तथा चर्चा गर्नु आवश्यक रहेको बताएका छन्।





