गुवाहाटी: असमका मुख्यमन्त्री हेमन्त विश्व सरमाले कोचबिहारस्थित ऐतिहासिक मधुपुर सत्रलाई बटद्रवाको ढाँचामा विकसित गर्दै उत्तर–पूर्व भारतकै महत्वपूर्ण आध्यात्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेका छन्।
मुख्यमन्त्री सरमाले सामाजिक सञ्जाल फेसबुकमार्फत मधुपुर सत्र असमिया सभ्यता, संस्कृति र महापुरुषहरूको महान् आदर्शको जीवन्त प्रतीक रहेको उल्लेख गरेका छन्। एकशरण नामधर्मले प्रवाह गरेको भक्ति, समानता, ज्ञान र सांस्कृतिक समन्वयको सन्देश आज पनि यस पवित्र भूमिबाट प्रतिध्वनित भइरहेको उनको भनाइ छ।
महापुरुष श्रीमन्त शंकरदेव, श्रीश्री माधवदेव तथा श्रीश्री दामोदरदेवसँग जोडिएको मधुपुरको ऐतिहासिक र आध्यात्मिक महत्व असमका जनताका लागि गहिरो भावनासँग जोडिएको मुख्यमन्त्री सरमाले बताएका छन्। शंकरदेवले जीवनको अन्तिम समय मधुपुरमै बिताउन चाहेको प्रसंगले समेत यस स्थानको ऐतिहासिक महत्व थप उजागर गर्ने उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री सरमाका अनुसार विकाससँगै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै मधुपुर सत्रको संरक्षण, सौन्दर्यीकरण र समग्र पूर्वाधार विकासका लागि विस्तृत योजना अघि बढाइएको छ।
यसै क्रममा मधुपुर सत्रमा पश्चिम बंगाल सरकारका मन्त्री निशिथ प्रामाणिक, मालती राभा राय तथा असम सरकारका मन्त्री अशोक सिंघल र अश्विनी राय सरकारसहित सम्बन्धित पक्षसँग सत्रको संरक्षण र विकासका विभिन्न विषयमा छलफल गरिएको मुख्यमन्त्री शर्माले जानकारी दिएका छन्।
असम र पश्चिम बंगाल सरकारबीचको सहकार्य र समन्वयबाट मधुपुरलाई बटद्रवाको ढाँचामा ठूलो सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न सकिने उनको विश्वास छ।
मधुपुरको संरक्षण र विकासले ऐतिहासिक सम्पदाको जगेर्नासँगै धार्मिक तथा सांस्कृतिक पर्यटनलाई समेत नयाँ गति दिने अपेक्षा गरिएको छ। प्रस्तावित विकास योजनाले मधुपुरलाई उत्तर–पूर्व भारतको महत्वपूर्ण आध्यात्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।





