असम: गायक जुबिन गर्गको पहिलो पुण्यतिथिमा राज्यभरि भावपूर्ण श्रद्धाञ्जली

FB_IMG_1789820981970

२६०० विद्यार्थीद्वारा एकैसाथ गीत प्रस्तुति

​गुवाहाटी: असमका लोकप्रिय गायक तथा सङ्गीतकार जुबिन गर्गको पहिलो पुण्यतिथिमा शनिवार असम राज्यभरि नै विविध कार्यक्रमहरूको आयोजना गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।
​उहाँका प्रशंसक, विद्यार्थी तथा सङ्गीतप्रेमीहरूले जुबिनका लोकप्रिय गीतहरू गाउँदै उहाँको सङ्गीत धरोहरलाई स्मरण गरेका छन्।
​यसै क्रममा नूनमाटीस्थित असम जातीय विद्यालयमा ‘जुबिन दिवस’ मनाइएको छ। सो अवसरमा करिब २ हजार ६ सय जना विद्यार्थीहरूले एकैसाथ जुबिनको प्रसिद्ध गीत ‘दिया घुराई दिया’ प्रस्तुत गरेका थिए। उक्त विशेष कार्यक्रममा जुबिन गर्गकी धर्मपत्नी गरिमा सौकिया गर्गको पनि उपस्थिति रहेको थियो।
​यता ‘जुबिन क्षेत्र’ मा दिनभरि नै उहाँका गीतहरू गुञ्जिरहे, जसले गर्दा त्यहाँको वातावरण निकै भावुक बनेको थियो। आफ्ना प्रिय कलाकारलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि ठूलो सङ्ख्यामा प्रशंसकहरूको उपस्थिति रहेको थियो।
​त्यस्तै, मङ्गलदै इलेक्ट्रोनिक मिडिया फोरम र प्रेस क्लबको संयुक्त आयोजनामा ‘जुबिन दिवस’ को अवसरमा प्रभातफेरी निकालिएको छ। प्रभातफेरीमा सहभागी हुँदै मन्त्री नीलिमा देवीले जुबिनको निधनपछि उहाँको प्रत्येक गीतको अर्थले मानिसहरूको हृदयलाई गहिरोसँग छोइरहेको बताउनुभयो।
​काहिलीपारास्थित जुबिन गर्गको निवासमा रहेको उहाँको प्रतिमामा पुष्पगुच्छा अर्पण गरी सजाइएको थियो। पहिलो पुण्यतिथिमा मानिसहरूले ‘लुइत कण्ठ’ जुबिन गर्गलाई स्मरण गर्दै उहाँको आवाज, सुर र सङ्गीतको विशिष्टता सदैव मानिसहरूको हृदयमा जीवित रहने बताएका छन्।

About Author

Advertisement