मुख्यमन्त्री गोलेद्वारा सपना साकार भएको टिप्पणी
गान्ताेक: सिक्किममा ‘हेलेन लेप्चा सिक्किम सरकारी मेडिकल कलेज’ सञ्चालनमा आएको छ। कलेजको औपचारिक उद्घाटन भई पठनपाठन र सेवा सुरु भएसँगै प्रदेशको स्वास्थ्य तथा चिकित्सा शिक्षाको क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ।
यस अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले यो कलेजको उद्घाटन हुनु सिक्किमेली जनताको लामो समयदेखिको सपना साकार हुनु भएको बताउनुभएको छ।
”हेलेन लेप्चा सिक्किम सरकारी मेडिकल कलेजको उद्घाटन एउटा सपना पुरा हुनु हो,”
मुख्यमन्त्री गोलेले भन्नुभएको छ, “यो सिक्किमका लागि नयाँ अध्यायको सुरुवात र प्रत्येक सिक्किमेली नागरिकका लागि असाध्यै गर्वको क्षण हो।”
कलेज सञ्चालनमा आएसँगै प्रदेशका विपन्न तथा मध्यमवर्गीय परिवारका विद्यार्थीहरूले आफ्नै भूमिमा सुलभ र गुणस्तरीय चिकित्सा शिक्षा हासिल गर्ने अवसर पाउनेछन्। साथै, स्थानीय जनताले उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।





