२६०० विद्यार्थीद्वारा एकैसाथ गीत प्रस्तुति
गुवाहाटी: असमका लोकप्रिय गायक तथा सङ्गीतकार जुबिन गर्गको पहिलो पुण्यतिथिमा शनिवार असम राज्यभरि नै विविध कार्यक्रमहरूको आयोजना गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।
उहाँका प्रशंसक, विद्यार्थी तथा सङ्गीतप्रेमीहरूले जुबिनका लोकप्रिय गीतहरू गाउँदै उहाँको सङ्गीत धरोहरलाई स्मरण गरेका छन्।
यसै क्रममा नूनमाटीस्थित असम जातीय विद्यालयमा ‘जुबिन दिवस’ मनाइएको छ। सो अवसरमा करिब २ हजार ६ सय जना विद्यार्थीहरूले एकैसाथ जुबिनको प्रसिद्ध गीत ‘दिया घुराई दिया’ प्रस्तुत गरेका थिए। उक्त विशेष कार्यक्रममा जुबिन गर्गकी धर्मपत्नी गरिमा सौकिया गर्गको पनि उपस्थिति रहेको थियो।
यता ‘जुबिन क्षेत्र’ मा दिनभरि नै उहाँका गीतहरू गुञ्जिरहे, जसले गर्दा त्यहाँको वातावरण निकै भावुक बनेको थियो। आफ्ना प्रिय कलाकारलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि ठूलो सङ्ख्यामा प्रशंसकहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, मङ्गलदै इलेक्ट्रोनिक मिडिया फोरम र प्रेस क्लबको संयुक्त आयोजनामा ‘जुबिन दिवस’ को अवसरमा प्रभातफेरी निकालिएको छ। प्रभातफेरीमा सहभागी हुँदै मन्त्री नीलिमा देवीले जुबिनको निधनपछि उहाँको प्रत्येक गीतको अर्थले मानिसहरूको हृदयलाई गहिरोसँग छोइरहेको बताउनुभयो।
काहिलीपारास्थित जुबिन गर्गको निवासमा रहेको उहाँको प्रतिमामा पुष्पगुच्छा अर्पण गरी सजाइएको थियो। पहिलो पुण्यतिथिमा मानिसहरूले ‘लुइत कण्ठ’ जुबिन गर्गलाई स्मरण गर्दै उहाँको आवाज, सुर र सङ्गीतको विशिष्टता सदैव मानिसहरूको हृदयमा जीवित रहने बताएका छन्।





